बागमतीका मुख्यमन्त्री थापासहित नयाँ मन्त्रीले लिए शपथ

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् ।

नयाँ प्रदेश सरकारमा सात सदस्य रहेका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ नियुक्त भएका छन् ।

त्यस्तै, नेकपाबाट सरल सहयात्रीलाई आर्थिक मामिला मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ । बाँकी तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले नै सम्हाल्ने बताइएको छ ।

विवादका बीच समर्थन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन प्रदेशसभा सदस्य मन्त्री बनेका छन् । सरकारलाई समर्थन दिएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारवाही गर्दै प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्ना सांसद मन्त्री बनेमा उनीहरुलाई पनि कारवाही गर्ने बताएका छन् ।