
-अनिल नेपाली, अर्घाखाँची डटकम।
अर्घाखाँची । मालारानी गाउँपालिकामा कृषि क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा प्रगतिको सार्वजनिक सुनुवाइ गोष्ठी सम्पन्न भएको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सन्धिखर्क, अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालिका–६, साकिन्धारामा गोष्ठी आयोजना गरिएको हो।


आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने वार्षिक कार्यक्रम तथा गत आर्थिक वर्ष २०८२/०८३ मा मालारानी गाउँपालिकामा कृषि क्षेत्रतर्फ सञ्चालन भएका कार्यक्रम र हासिल भएको प्रगतिको समीक्षा, सार्वजनिक सुनुवाइ तथा सरोकारवालाबीच छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख विष्णुबहादुर मगरातीले जानकारी दिनुभयो।


कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, किसानलाई प्रविधिमैत्री बनाउने, कृषि व्यवसायलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउने र सरकारी कृषि कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले कृषिको उत्पादकत्व वृद्धि गर्दै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो। उहाँले अनुदानमा आधारित कृषि कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र वास्तविक किसानको आवश्यकता केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो।


गोष्ठीमा वडा नं. ६ का अध्यक्ष नुमबहादुर घर्ती, गाउँपालिका कृषि अधिकृत बिमल केसी, उच्च मूल्य कृषि वस्तु उद्यमशीलता कार्यक्रम संयोजक उद्वब बुढा, वडा सदस्य लालु राना तथा स्थानीय अगुवा कृषक तुल्सी बित्रम ठकुरीलगायतले कृषि क्षेत्रको अवस्था, समस्या र सम्भावनाबारे धारणा राख्नुभएको थियो।
सार्वजनिक सुनुवाइका क्रममा विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको अवस्था, किसानले प्राप्त गरेका सेवा तथा सुविधाको प्रभावकारिता, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे सरोकारवालाबीच प्रत्यक्ष छलफल गरिएको थियो।

सहभागी कृषकहरूले स्थानीयस्तरमा कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय बीउ, मल, सिँचाइ, आधुनिक कृषि प्रविधि, प्राविधिक सेवा तथा बजारको सहज पहुँच आवश्यक रहेको बताएका थिए। उत्पादन गरे पनि उचित बजार र मूल्य नपाउने समस्या समाधान गर्न स्थानीय उत्पादनको बजारीकरण तथा भण्डारणमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।

मालारानी गाउँपालिका कृषि उत्पादनका दृष्टिले सम्भावनायुक्त क्षेत्र भए पनि पछिल्लो समय खेतीयोग्य जमिन बाँझिँदै जाने, युवा जनशक्ति वैदेशिक रोजगारी तथा अन्य क्षेत्रमा जाने, उत्पादन लागत बढ्ने र कृषि उपजले उचित मूल्य नपाउने जस्ता चुनौती देखिँदै आएका छन्।

यस्ता चुनौतीलाई सम्बोधन गर्दै कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउन सरकारी तथा स्थानीय तहका कार्यक्रमबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। किसानका वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार योजना तथा कार्यक्रम सञ्चालन गर्न सके कृषि उत्पादन बढ्नुका साथै स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिनेमा जोड दिइएको थियो।
गोष्ठीमार्फत गत आर्थिक वर्षमा सञ्चालन भएका कृषि कार्यक्रमको उपलब्धि तथा प्रभावकारिताको समीक्षा गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप किसानमुखी, उत्पादनमा आधारित र परिणाममुखी बनाउने आधार तयार गरिएको आयोजकले जनाएको छ।


सार्वजनिक सुनुवाइमा प्राप्त सुझाव तथा प्रतिक्रियालाई आगामी कार्यक्रम निर्माण र कार्यान्वयनमा उपयोग गर्ने बताइएको छ। स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष छलफल र सार्वजनिक सुनुवाइले सरकारी कार्यक्रमको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

मालारानीको कृषि सम्भावनालाई उपयोग गर्दै स्थानीय उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक खेतीको विस्तार तथा किसानको आयआर्जन बढाउने दिशामा सरकारी र स्थानीय तहका कार्यक्रमलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने आवश्यकता समेत कार्यक्रममा औंल्याइएको छ।




