
बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज डिफेन्डर जोआओ कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गरेको छ । कान्सेलोले बार्सिलोनासँग सन् २०२९ को जुनसम्मका लागि तीन वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनाले कान्सेलोलाई भित्र्याएको घोषणा गरेको हो । कान्सेलो यसअघि दुई पटक ऋणमा बार्सिलोनाबाट खेलिसकेका छन् । उनी पहिलो पटक म्यानचेस्टर सिटीबाट र दोस्रो पटक गत सिजनको दोस्रो चरणमा साउदी क्लब अल हिलालबाट बार्सिलोनामा ऋणमा आएका थिए । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उनले प्रभावशाली प्रदर्शन गर्दै एलेजान्द्रो बाल्डेलाई समेत पछि पारेर लेफ्ट ब्याकको पहिलो रोजाइमा स्थान बनाएका थिए ।

कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गर्न बार्सिलोनाले अल हिलालसँग लामो छलफल गर्नुपरेको थियो । अल हिलाल कम रकममा उनलाई छाड्न तयार नभएपछि कान्सेलोले उक्त क्लबबाट पाउने पारिश्रमिकसमेत त्यागेर सम्झौता अन्त्य गरेका थिए । त्यसपछि उनी स्वतन्त्र खेलाडीका रूपमा बार्सिलोना फर्किएका हुन् ।


कान्सेलो सोमबार बार्सिलोना पुगेका थिए भने मंगलबार क्लबको प्रशिक्षणस्थलमा पुगेर स्वास्थ्य परीक्षण र सम्झौतासम्बन्धी प्रक्रिया पूरा गरेका थिए । औपचारिक प्रक्रिया समयमा पूरा हुन नसकेका कारण उनलाई जोआन गाम्पर ट्रफी खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थिएन । तर, आज सम्झौता औपचारिक रूपमा पूरा भएपछि कान्सेलो अब स्थायी रूपमा बार्सिलोनाका खेलाडी बनेका छन् ।





