
इस्लामवाद, ५ भदौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सामना गरिरहेका समस्याहरू कम हुने कुनै सङ्केत देखिएको छैन । उनलाई पुनः जेल पठाइएको छ।
सर्वोच्च अदालतको आदेशपछि बिहीबार अबेर राति कडा सुरक्षाबीच इमरानलाई शिफा अस्पताल ल्याइएको थियो तर स्वास्थ्य परीक्षण गरे पछि मात्र ६ घण्टाको अन्तरालमा उनलाई अदियाला जेल फर्काइएको छ ।

शाहबाज सरिफ सरकारले शुक्रबार बिहान पूर्वप्रधानमन्त्री इमरानलाई इस्लामावादको शिफा अस्पतालबाट अदियाला जेल फिर्ता पठाएको हो । स्वास्थ्य परीक्षणका लागि बिहीबार अबेर राति उनलाई रावलपिन्डीस्थित जेलबाट त्यहाँ ल्याइएको थियो तर त्यसको केही घण्टामै उनलाई पुनः जेल पठाइयो। जेल स्रोतका अनुसार कडा सुरक्षाका बीच प्रहरीले इमरानलाई उनको कोठासम्म पुर्याएको थियो।


यसअघि इमरानलाई रावलपिंडीको अडियाला जेलबाट शिफा अस्पताल लगिएको थियो। जेल अधिकारीहरूका अनुसार उनलाई कडा सुरक्षाका साथ अस्पताल पुर्याइएको थियो। साथै, सुरक्षाका लागि अस्पताल बाहिर ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको थियो।
स्रोतहरूका अनुसार अस्पतालमा पीटीआईका संस्थापक इमरानको उपचारको व्यवस्था अन्तिम रूपमा मिलाइ सकिएको थियो र उनको स्वास्थ्य जाँचका लागि चिकित्सकहरूको टोली गठन गरिएको थियो।

यसै साताको सुरुमा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई जेलबाट अस्पताल सार्न सरकारलाई निर्देशन दियो। तीन सदस्यीय इजलासले आफ्नो आदेशमा इमरान खानलाई आगामी ४८ घण्टाभित्र इस्लामावादस्थित शिफा अस्पताल लैजानुपर्ने उल्लेख गरिदिएको थियो ।
देशको सर्वोच्च अदालतले मंगलबार ७३ वर्षीय इमरानलाई दुई दिन भित्र इस्लामावादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सार्न र सेप्टेम्बर १६ मा तोकिएको अर्को सुनुवाइ नभएसम्म त्यहीँ राख्न आदेश दिएको थियो। सरकारले सुरुमा अदालतको आदेश कार्यान्वयन गर्ने बताए पनि पछि उक्त आदेशको पुनरावलोकन र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ ।

पीटीआईका संस्थापकको स्वास्थ्यलाई लिएर उनका परिवार तथा समर्थकहरूले महिनौँदेखि चिन्ता व्यक्त गर्दै आएका थिए र उनलाई पर्याप्त स्वास्थ्य सुविधा उपलब्ध नगराइएको आरोप पनि बारम्बार लगाइँदै आएको थियो । यसै सन्दर्भमा सर्वोच्च अदालतको यो आदेश आएको हो। कारागारमा रहेका इमरानको स्वास्थ्य अवस्था कमजोर छ, विशेषगरी आँखासम्बन्धी समस्या मुख्य चिन्ताको विषय बनेको छ।
जनवरीको अन्त्यतिर दाहिने आँखामा समस्या देखिए पछि पूर्व क्रिकेटर इमरानलाई विगत केही महिनायता इस्लामाबादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ मा पटक पटक लगिएको थियो। त्यसपछि उनलाई निजी अस्पतालमा सार्नुपर्ने मागले तीव्रता पायो।




