
गुइयाङ (चीन), ६ भदौं । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको एसेम्बली लाइनमा ८ वर्ष बिताए पछि हे झिचेङ सन् २०२४ मा दक्षिण(पश्चिम चीनको गुइझोउ प्रान्तस्थित आफ्नो पहाडी गाउँ फर्किए र त्यहाँ एउटा ‘फार्महाउस रेस्टुरेन्ट’ खोले। झेङझाउ उनको गाउँबाट करिब १,५०० किलोमिटर टाढा पर्छ।
‘घरबाट टाढा काम गर्दा मैले परिवारलाई भेट्ने मौका नै पाउँदिनथेँ,’ उनले भने, ‘अहिले म हरेक बिहान मेरी जेठी छोरीलाई विद्यालय पुर्याउँछु र मेरा दिनहरू रेस्टुरेन्टको काममा बिताउँछु, पाहुनाहरूको सेवा गर्ने क्रममै म मेरी कान्छी छोरीको पनि हेरचाह गर्छु।’

आफ्नो जन्मथलो जिएशाङ गाउँमा उनको यो फिर्ती कुनै नौलो घटना होइन। ‘रेड आर्मी’ अर्थात लाल सेना को ‘लङ मार्च, सन् १९३४–१९३६ को ऐतिहासिक यात्रा जसले कुओमिन्ताङको घेराबन्दी तोडेको थियो, सँग जोडिएका क्रान्तिकारी स्थलहरू जस्ता ऐतिहासिक सम्पदाहरूको सदुपयोग गर्दै र ग्रामीण विकासलाई अघि बढाउँदै यस समुदायले अहिले धेरै युवाहरूलाई गाउँ फर्काउन सफल भइरहेको छ।


सन् १९३५ को अप्रिलमा, ‘लङ मार्च’ का क्रममा विश्राम लिन र पुनर्गठित हुन रेड आर्मी जिएशाङमा रोकिएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरूसँग उनीहरूको घनिष्ठ सम्बन्ध स्थापित भएको थियो। आज पनि गाउँले ती सैनिकहरूले लेखेका नाराहरू, उनीहरू बसेका बासस्थानहरू र उनीहरूलाई सहयोग गर्ने सर्वसाधारणका चिहानहरूलाई सुरक्षित राखेको छ।
तर, दुर्गम पहाडी अवस्थिति र छरिएर रहेका खेतबारीका कारण विकासका लागि यो गाउँले लामो समयसम्म संघर्ष गर्नुपरेको थियो। ‘सामूहिक आम्दानी अत्यन्तै न्यून थियो र हाम्रो कुनै विशिष्ट उद्योग पनि थिएन,’ गाउँका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव याङ लुनले सम्झिए।

सन् २०२३ एउटा ठूलो मोड साबित भयो, जिएशाङलाई सुन्दर र क्रान्तिकारी ग्रामीण समुदायको विकास गर्ने राष्ट्रिय कार्यक्रमअन्तर्गत नमुना गाउँका रूपमा छनोट गरियो, जसले गर्दा नीतिगत सहयोग र आर्थिक अनुदान दुवै प्राप्त भयो।
यस कार्यक्रमको एउटा मुख्य पहल ‘लङ मार्च’ को मार्गलाई पछ्याउँदै २.५ किलोमिटर लामो पदमार्ग निर्माण गर्नु थियो। गाउँभित्र यो पदमार्ग १०० भन्दा बढी घरपरिवारका जग्गाहरू हुँदै अघि बढ्छ।

‘चीनको ग्रामीण भेगमा, गाउँलेहरू आफ्नो जग्गा सजिलै छोड्न तयार हुँदैनन्, एक इन्च पनि ।’ जिएशाङमा खटिएका पहिलो पार्टी सचिव यान जियायुनले भने, ‘तर हामीले उनीहरूलाई भन्यौं, यदि कोही पनि यस कार्यक्रममा आएन भने तपाईंले उब्जाएको बाली केवल तपाईंकै हुनेछ र यसबाट कहिल्यै पनि थप आम्दानी हुनेछैन।’ पहिलो पार्टी सचिवु भन्नाले माथिल्लो तहको सरकारद्वारा गाउँमा बसेर स्थानीय विकासमा सहयोग पुर्याउन खटाइने अधिकारीहरूलाई बुझिन्छ।
सन् २०२५ सम्ममा देशभर यस्ता ३० लाखभन्दा बढी अधिकारीहरू खटाइइसकेका थिए । उनीहरूले विभिन्न परियोजनाहरू सञ्चालन र स्रोत साधनको समन्वय गरी ग्रामीण पूर्वाधार सुधार गर्न, सामूहिक अर्थतन्त्रलाई बढावा दिन र सार्वजनिक सेवाहरूको स्तर उकास्न मद्दत गरिरहेका छन् ।

परियोजनालाई अघि बढाउन जिएशाङ गाउँका अधिकारीहरूले एउटा कार्यदल गठन गरे, आफ्नै जग्गा उपलब्ध गराएर उदाहरण प्रस्तुत गरे र गाउँलेहरूलाई यसबाट हुने दीर्घकालीन फाइदा तथा विकासका सम्भावनाहरूबारे बुझाउन घर घरमा पुगे। अन्ततः,११० घरपरिवार आफ्नो जग्गा निःशुल्क उपलब्ध गराउन सहमत भए र पदमार्गको निर्माण कार्य सम्पन्न भयो।

‘रेड आर्मी’ का पुनर्स्थापित ऐतिहासिक अवशेषहरू र ‘लङ मार्च पदमार्गको सदुपयोग गर्दै, जिएशाङले एउटा निजी कम्पनीसँग मिलेर गाउँको सामूहिक ’स्वामित्वमा रहने गरी पर्यटन सञ्चालक संस्था स्थापना गर्यो। त्यसयता, यसले नजिकैका प्राकृतिक आकर्षणहरू, जस्तै फूलका बगैँचाहरू, क्याम्पिङ स्थलहरू र घाँसे मैदानसहितको पार्कलाई समेटेर विभिन्न ‘थिम’मा आधारित पर्यटन प्याकेजहरू तयार पारेको छ।
‘क्रान्तिकारी विरासत र प्राकृतिक दृश्यलाई संयोजन गरेर हामीले यस्तो समन्वयात्मक प्रभाव हासिल गरेका छौं, जहाँ समग्र नतिजा व्यक्तिगत पक्षहरूको योगफलभन्दा धेरै शक्तिशाली छ,’ पर्यटन कम्पनीका कर्मचारी छियाओ यिङशानले भने।
पर्यटन कार्यक्रम सुरु भएयता जिएशाङले ग्रामीण क्षेत्रमा ‘रेड ट्रेल’पदयात्राका चारवटा कार्यक्रमहरू आयोजना गरिसकेको छ, जसमा सबैभन्दा ठूलो कार्यक्रममा ७०० जनासम्म सहभागी भएका थिए। पर्यटकहरूको आगमन बढे सँगै धेरै गाउँलेहरूले पदमार्गको छेउमा स्थानीय उत्पादनहरू बिक्री गर्न साना पसल वा स्टलहरू राख्न थालेका छन ।
‘खाजाको एउटा स्टलले मात्र आधा दिनमा ७०० देखि ८०० युआनसम्म कमाइ गर्यो,’ यानले भने, ‘जब हामी बिक्रीको अवस्था बुझ्न निस्कियौं, भेटिएका हरेक गाउँलेको अनुहारमा खुसीको चमक थियो। त्यो दृश्य साँच्चै नै हृदयस्पर्शी थियो।’

क्रान्तिकारी इतिहाससँग सम्बन्धित पर्यटनको विस्तारले स्थानीयहरूका लागि रोजगारीका ठोस अवसरहरू सिर्जना गरिरहेको छ। यानका अनुसार, यसै वर्ष सुरु गरिएको गाउँको एक दिने भ्रमण कार्यक्रमले गाइड, दोभाषे र चालकहरूको निरन्तर माग बढाएको छ। गाउँमा ‘हे’को पारिवारिक व्यवसायसहित पाँचवटा फार्म स्टेमा आधारित आवास व्यवसायहरू सञ्चालनमा आएका छन्, जसले दर्जनौं स्थानीय बासिन्दालाई रोजगारी दिएका छन्।
यसैबीच, पर्यटन क्षेत्रमा आएको यो उछालले ६०० वर्षभन्दा लामो खेतीको इतिहास बोकेको स्थानीय रातो चामलको प्रजातिलाई पनि नयाँ जीवन दिएको छ।
जिएशाङ अवस्थित गाओपो टाउनसिपमा औसत १,५०० मिटरको उचाइमा उब्जाइने यो धानको बाली पाक्न लामो समय लाग्छ र यसको उत्पादन पनि तुलनात्मक रूपमा कम हुन्छ। पहिले यसको बिक्री राम्रो नहुने भएकाले गाउँलेहरूमा यसको खेती गर्ने खासै उत्साह थिएन।
योजना सुरु भए पछि जिएशाङले गाउँको सामूहिक स्वामित्वमा ‘जिएशाङ होङक्सिन’ रातो चामलको ब्रान्ड स्थापना गर्न एउटा कम्पनी दर्ता गर्यो र खरिद, मूल्य निर्धारण तथा बजारीकरणको एकीकृत प्रणाली लागू गर्यो। गाउँले प्राविधिक सहयोगका लागि कृषि विज्ञहरूलाई पनि भित्र्यायो, जसले किसानहरूको उत्साहमा उल्लेख्य वृद्धि गर्यो। सन् २०२४ मा गाउँमा रातो चामल खेती गरिने क्षेत्रफल ३६ हेक्टर थियो भने सन् २०२५ मा यो ६० भन्दा बढी भयो।
गाउँले झाङ क्वानले बताए अनुसार उनी पहिले बजारमा बेच्नका लागि दर्जनौं किलोग्राम रातो चामल आफ्नो पिठ्युँमा बोकेर लैजान्थे। अहिले, गाउँको सामूहिक संस्थाले न्यूनतम मूल्यमा खरिदको ग्यारेन्टी गरेकाले उनले २० भन्दा बढी जग्गामा रातो चामल खेती गर्छन् र यसै बालीबाट वर्षमा करिब ८०,००० युआन कमाउँछन् । साथै, उनी मुख्य खेतीको सिजन नभएको समयमा अर्थात अफ सिजनमाआय बढाउन सानातिना सहायक व्यवसायहरू पनि सञ्चालन गर्छन्।
कच्चा धानको स्थिर बिक्रीका अतिरिक्त जिएशाङले रातो चामलको रक्सी उत्पादन गर्न व्यावसायिक साझेदार भित्र्याएर आफ्नो औद्योगिक शृङ्खलालाई अझ विस्तार गरेको छ, जसले स्थानीय कृषि उपजको थप मूल्य बढाएको छ। गाउँले प्रयोगविहीन भएका फार्म हाउसहरूलाई ‘रेड भिलेज सुपरमार्केट’ मा परिणत गरी त्यहाँ रातो चामल र कालो सुँगुरको मासुबाट बनेका परिकारलगायत स्थानीय विशेष उत्पादनहरू प्रदर्शन तथा बिक्री गर्ने व्यवस्था पनि मिलाएको छ।

सुपरमार्केट सञ्चालन गर्ने ली लिङहुई पनि उनीजस्तै गाउँ फर्केकी अर्की युवती हुन्। घरबाट टाढा वर्षौंसम्म काम गरेपछि उनले व्यवसायसम्बन्धी राम्रो अनुभव बटुलिसकेकी थिइन्। गाउँको तत्कालीन पार्टी सचिवको आग्रहमा उनले गाउँको सामूहिक कम्पनीमा लगानी गरिन्।
‘म गाउँको विकासमा आफ्नो तर्फबाट योगदान पुर्याउन चाहन्थें,’ लीले भनिन्, ‘मैले यसलाई एउटा अर्थपूर्ण काम ठानेँ, त्यसैले म फर्किएँ।’
ग्रामीण पुनरुत्थानका प्रयासहरू सुरु हुनुअघि सन् २०२३ मा गाउँको सामूहिक आम्दानी मुस्किलले २ लाख युआन थियो। सन् २०२४ मा यो ४ लाख ३० हजार युआनभन्दा बढी पुग्यो र गत वर्ष ५ लाख ७० हजार युआनको उचाइ लियो।
‘हाम्रो सिद्धान्त भनेको सीमा ननाघी सहयोग गर्नु र नियन्त्रण नलिईकन मद्दत गर्नु हो,’ यानले भने। उनले बताए अनुसार त्यहाँ खटिएको कार्यदलको उद्देश्य गाउँलाई आफ्नै उद्योगहरू स्थापना गर्न सघाउनु र दीर्घकालसम्म आफैं धानिन सक्ने विकासको नमुना छोडेर जानु हो।
नीमा वृद्धि भएसँगै गाउँका सार्वजनिक स्थलहरूमा पनि एउटा सुखद परिवर्तन आएको छ। हालैका वर्षहरूमा जिएशाङले सांस्कृतिक चोक, बास्केटबल कोर्ट र वाकिङ पाथलगायतका नयाँ संरचनाहरू निर्माण गरेको छ। रात पर्दा उक्त चोक झिलिमिली बत्तीले उज्यालो हुन्छ। त्यहाँ भेला भएका स्थानीय बालबालिकाहरू क्रान्तिकारी गीतहरू गाउँछन् र उनीहरूको कलिलो तथा स्पष्ट स्वर पहाडहरूमा गुन्जिरहन्छ।
‘जब जब म यो दृश्य देख्छु, म गहिरो भावुक हुन्छु,’ यानले भने, ‘के हाम्रा क्रान्तिकारी अग्रजहरूले छोड्न चाहेको विरासत यही होइन र ?’




