चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिका –०१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब १२: २३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको छ ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका –०८ निवासी ५१ वर्षीय अजयकुमार मास्के र दुवै सवारीसाधन नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।