
लन्डन, ६ भदौं । राजकुमार ह्यारी र अन्य छ जनाले गोपनीयतासम्बन्धी मुद्दामा ३ करोड ४५ लाख पाउन्डसम्मको कानुनी खर्च व्यहोर्नुपर्ने अवस्था आएको छ।
गोपनीयता सम्बन्धी मुद्दामा हार व्यहोरे पछि उच्च अदालतका न्यायाधीशले कानुनी खर्चबापत ‘डेली मेल’का प्रकाशकलाई ३४.५ मिलियन पाउन्डसम्म तिर्नुपर्ने असाधारण आदेश दिएका छन् । यसको सामना राजकुमार ह्यारी र अन्य छ जना चर्चित व्यक्तिहरूले गर्नुपर्ने भएको छ।

सर एल्टन जोन र लिज हर्ली समेत समावेश भएका ती सात जना वादीहरूले ‘एसोसिएटेड न्युजपेपर्स लिमिटेड’लाई अर्को हप्ताको शुक्रबारसम्ममा सुरुवाती ९५ लाख ४० हजार पाउन्ड बुझाउनु पर्नेछ।
न्यायाधीशले यो मुद्दालाई एउटा दुर्लभ घटनाका रूपमा व्याख्या गर्दै फैसला सुनाए कि वादीहरूले सुनुवाइ अघि सहमति भएको खर्चभन्दा निकै बढी रकम तिर्नुपर्ने हुन्छ । उनले वादीहरूले आफ्ना दाबीहरू प्रस्तुत गरेको तरिकालाई अत्यधिक अनुचित भन्दै आलोचनासमेत गरेका छन् ।


गत जुलाई ७ मा न्यायाधीश निक्लिनले गैरकानुनी रूपमा सूचना संकलन गरिएको भन्ने दाबीहरू खारेज गरेका थिए, जसलाई एएनएलले अस्वीकार गरेको थियो। ड्यूक अफ ससेक्स र अन्य ६ जना वादीहरूसँग पुनरावेदन गर्नअक्टोबर २ सम्मको समय छ।

अन्य वादीहरूमा सर एल्टन जोन र उनका पति डेभिड फर्निस, लिबरल डेमोक्र्याट पार्टीका पूर्व उपनेता सर साइमन ह्युज, जातीय न्यायका लागि अभियान चलाउने ब्यारोनेस लरेन्स, तथा अभिनेत्रीहरू साडी फ्रस्ट र लिज हर्ली रहेका छन्।
मुद्दा हारेको खण्डमा ‘एसोसिएटेड न्युज पेपर्स’ को खर्च बापत १६.२ मिलियन पाउन्डसम्म बेहोर्न उनीहरूसँग बीमाको व्यवस्था थियो तर शुक्रबारको फैसलाको अर्थ अब उक्त अखबार समूहले आफ्नो बचाउका लागि खर्च भएको बताएको ३४.५ मिलियन पाउन्डसम्म असुल गर्ने प्रयास गर्न सक्छ। यसको अर्थ ड्यूक र अन्य व्यक्तिहरूले करिब १८ मिलियन पाउन्ड बराबरको थप आर्थिक दायित्वको सामना गर्नुपर्ने हुन सक्छ।

न्यायाधीश निक्लिनले भने, ‘म ३ करोड ४० लाख पाउन्ड भन्दा बढीको खर्च दाबीलाई प्रथम दृष्टिमै अत्यधिक मान्छु । साथै, एसोसिएटेडद्वारा दाबी गरिएका सबै खर्चहरू उचित रूपमा गरिएका थिए वा थिएनन् तथा तिनको रकम उचित छ वा छैन भन्ने विषयमा यसले गम्भीर चिन्ता खडा गरेको छ।’




