
सञ्जय मिश्रा
रौतहट, ६ भदौ ।
बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा गृह मन्त्रालयमा छलफल हुने भएको छ।
गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार अपराह्न स्थानीय अभियन्ताको साथमा सिमरा विमानस्थलबाट काठमाडौं लगिएको हो।

गृहमन्त्री गुरुङसँग वार्ता तथा घटनाबारे छलफल गर्न उनीहरूलाई काठमाडौं ल्याइएको बताइएको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा गृह मन्त्रालयमा मन्त्री गुरुङसहित सम्बन्धित अधिकारीको उपस्थितिमा पीडित परिवारसँग छलफल हुनेछ।


छोरीको हत्या भएपछि न्यायको माग गर्दै स्थानीयस्तरमा आन्दोलन चर्किरहेका बेला पीडित परिवारलाई काठमाडौं ल्याएर सरकारको उच्च तहमा प्रत्यक्ष छलफल गराउनुलाई घटनाको अनुसन्धान र न्यायिक प्रक्रियालाई थप गम्भीरतापूर्वक अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।
काठमाडौं प्रस्थान गर्नुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयबासीलाई छोरीको न्यायका लागि जारी आन्दोलन नरोक्न आग्रह गरेका थिए। उनले दोषीमाथि कडा कारबाही नभएसम्म न्यायको आवाज उठाइरहन स्थानीयबासीसँग आग्रह गरेका हुन्।


गरिमा चौधरीको हत्या प्रकरणले पछिल्लो समय बारामा व्यापक आक्रोश सिर्जना गरेको छ। पीडित परिवारले घटनामा संलग्न भएको आरोपमा १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कलैयामा किटानी जाहेरीसमेत दिएका छन्।

अब गृह मन्त्रालयमा हुने छलफलले पीडित परिवारका माग, अनुसन्धानको अवस्था र दोषीमाथि कारबाहीका विषयमा सरकारको धारणा स्पष्ट गर्ने अपेक्षा गरिएको छ। पीडित परिवार र स्थानीयबासीले भने घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने माग गर्दै आएका छन्।




