
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी पालिका चुनावका लागि उम्मेदवार छनोटको नयाँ रूपरेखा सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार पार्टीबाट मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न चाहनेले चार चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ।
रास्वपाका अनुसार उम्मेदवार बन्न इच्छुकले सुरुमा सम्बन्धित पालिका वा वडा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ। आवेदनपछि उम्मेदवारको विभिन्न आधारमा मूल्याङ्कन गरिनेछ।


उम्मेदवार छनोटमा सबैभन्दा बढी ४० प्रतिशत भार ‘पार्टीको आन्तरिक चुनाव’ लाई दिइएको छ। आन्तरिक निर्वाचनमा पार्टीका क्रियाशील सदस्य, संगठनात्मक कमिटी तथा विशिष्ट नेताहरू मतदाता रहने व्यवस्था गरिएको छ।

त्यस्तै, ‘लिडरशिप एकेडेमी’को परीक्षणलाई २५ प्रतिशत, जनसम्बन्ध तथा लोकप्रियता मापन गर्ने ‘पोलिटिकल प्रोक्सिमिटी’लाई २५ प्रतिशत र ‘समावेशी सम्बोधन’लाई १० प्रतिशत भार दिइएको छ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक लेनदेन, धाँधली तथा गुटबन्दी रोक्न कडा आचारसंहिता लागू गर्ने जनाएको छ। उम्मेदवार छनोटलाई प्रतिस्पर्धात्मक, पारदर्शी र पार्टीका सदस्यको सहभागितामा आधारित बनाउने उद्देश्य रहेको पार्टीको भनाइ छ।

यद्यपि, असाधारण परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट प्रत्यक्ष रूपमा उम्मेदवार चयन गर्न सकिने व्यवस्था पनि राखिएको छ।


रास्वपाको यो नयाँ छनोट प्रणालीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटलाई केवल पार्टी नेतृत्वको निर्णयमा सीमित नराखी नेतृत्व क्षमता, जनसम्बन्ध, समावेशिता र आन्तरिक लोकतन्त्रलाई समेत आधार बनाउने प्रयास गरेको देखिन्छ।
आगामी पालिका निर्वाचनमा रास्वपाले यही प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने तयारी अघि बढाएको छ।
#अर्घाखाँचीडटकम #रास्वपा #रविलामिछाने #पालिका निर्वाचन #उम्मेदवारछनोट #स्थानीयतह #राजनीति





