विश्वकप फाइनलमा झगडा गर्ने अर्जेन्टिनाका ३ खेलाडी माथि फिफाकाे कारबाही

काठमाडौं, ७ साउन । विश्वकपको फाइनलमा पराजित भएपछि स्पेनका खेलाडीहरूमाथि हातपात गरेको आरोपमा फिफाले अर्जेन्टिनाका तीन खेलाडीमाथि प्रतिबन्ध लगाएको छ।

यसरी प्रतिबन्धमा पर्ने तीन अर्जेन्टियन खेलाडीहरू मध्ये मिडफिल्डर लिआन्ड्रो पारेडेसमाथि लगाइएको १० खेलको निलम्बन पनि समावेश छ। स्पेनका एरिक गार्सियाको घाँटी समातेका र गाभीलाई भुइँमा धकेलेका पारेडेस माथिको यो प्रतिबन्ध सन् २०१४ मा उरुग्वेका फरवार्ड लुइस सुआरेजमाथि लगाइएको कारबाहीजस्तै विश्वकपको इतिहासमै सबैभन्दा कडा सजायमध्ये एक मानिन्छ।

अर्जेन्टिनाका डिफेन्डर नहुएल मोलिनामाथि सात खेलको प्रतिबन्ध लगाइएको छ भने थियागो अल्माडालाई एक खेलको निलम्बन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । र, फिफाले पारेडेस र मोलिनालाई ९०–९० हजार डलर तथा अल्माडालाई ३० हजार डलर जरिवाना पनि तोकेको जनाइएको छ। साथै, अर्जेन्टिनाका प्रशिक्षक रोबर्टो आयालालाई पनि तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।

उता, गाभी माथि पनि एक खेलको प्रतिबन्ध लगाइएको छ, यो सेप्टेम्बर २६ मा वेम्बलीमा इङ्ल्यान्डविरुद्ध स्पेनले खेल्ने नेसन्स लिगको खेल हो।

विश्वकपका क्रममा भएका विभिन्न घटनाहरू, जसमा इङ्ल्यान्डविरुद्धको सेमिफाइनल जित पछि खेलाडीहरूले फकल्यान्ड टापुसम्बन्धी राजनीतिक ब्यानर बोक्नु र समर्थकहरूले विभेदपूर्ण नारा लगाउनु समावेश थिए, का लागि अर्जेन्टिनी फुटबल संघ (एफएए) लाई १ लाख १० हजार अमेरिकी डलर जरिवाना गरिएको फिफाले जनाएको छ।

फिफाले एफएएलाई रंगभेद विरोधी परियोजनाहरूमा १ लाख अमेरिकी डलर खर्च गर्न पनि निर्देशन दिएको छ । साथै, अर्जेन्टिनाले फिफाबाट विश्वकपको पुरस्कार स्वरूप ३ करोड ४० लाख अमेरिकी डलर प्राप्त गरेको थियो। अब उसले सो रकमवाट जरिवाना, क्षतिपुर्ति र सामाजिक सेवाका लागि खर्च गर्नु पर्ने भएको छ।

तर, एफएएले फिफाको कडा प्रतिबन्ध र जरिवाना विरुद्ध फिफामा र सम्भवतः त्यसपछि ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट’ अर्थात खेलकुदसम्बन्धी मध्यस्थता अदालतमा पुनरावेदन गर्न सक्छ।

एक विज्ञप्तिमा जनाएअनुसार संघकाे कानुनी विभागले फिफाको सम्बन्धित निकायको पुनरावेदन समितिमा पुनरावेदन दर्ता गर्नका लागि पुनरावलोकन गर्न मिल्ने निर्णयहरूको आधारबारे फिफासँग समयमै जानकारी माग गर्नेछ, साथै अन्तिम विकल्पका रूपमा अदालतमा  पुनरावेदन गर्ने बाटो पनि खुला राख्नेछ।

images

फिफाको राष्ट्रिय टोलीको तालिकाअनुसार जुन २०२७ सम्ममा १० वटा खेलहरू हुने भएकाले, पारेडेसमाथिको यो प्रतिबन्ध व्यावहारिक रूपमा अर्जेन्टिनाको टोलीबाट एक वर्षको निष्कासनसरह नै हो।