निजी भ्रमणमा गण्डकी पुगेका प्रधानमन्त्री शाह आज काठमाडौं फर्किँदै

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका क्रममा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन्। उनी सोमबार काठमाडौं फर्किने कार्यक्रम रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाह शुक्रबार काठमाडौं हुँदै सडकमार्गबाट पोखरा पुगेका थिए। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका उनी शनिबार मुस्ताङ पुगेका थिए।

मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले शनिबार प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। आइतबार मुस्ताङबाट पोखरा फर्किएका उनी पोखराकै एक रिसोर्टमा बास बसेका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रधानमन्त्री शाहको भ्रमण पूर्ण रूपमा पारिवारिक तथा निजी भएकाले प्रशासनलाई समेत भ्रमणका अन्य विवरणबारे धेरै जानकारी छैन।

‘प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन,’ बरालले भने, ‘सोमबार उहाँ काठमाडौं फर्कने कार्यक्रम छ।’

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक परिवारका सदस्यसहित निजी भ्रमणमा निस्किएका हुन्। निजी भ्रमण भएकाले यस क्रममा प्रधानमन्त्रीको कुनै औपचारिक राजनीतिक वा सार्वजनिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

प्रधानमन्त्री शाह काठमाडौं–पोखरा हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका थिए। मुस्ताङबाट फर्किएपछि उनी आइतबार पोखरामै बसेका हुन्।

images

 

अन्य समाचारहरु