स्टारशिपलाई टावरबाट समात्ने योजनामा फेरि ढिलाई, मस्कले के भने ?

काठमाडौँ । अन्तरिक्ष क्षेत्रमा नयाँ प्रविधिको परीक्षण गरिरहेको स्पेसएक्सको सबैभन्दा महत्वाकांक्षी रकेट परियोजना स्टारशिपलाई प्रक्षेपण टावरबाट समात्ने योजनामा फेरि ढिलाइ हुने भएको छ ।

कम्पनीका प्रमुख एलन मस्कले स्टारशिपलाई टावरबाट समात्ने प्रयास अब केही महिनापछि मात्रै हुन सक्ने बताएका छन् । मस्कले सामाजिक सञ्जालमार्फत कम्पनीले केही महिनापछि टावरको सहायताले फर्किएको स्टारशिपलाई समात्ने प्रयास गर्ने बताएका हुन् । उनका अनुसार गत महिना स्टारशिप समुद्रमा अवतरण गरेको स्थानमा त्यतिबेला समात्ने टावर भएको भए रकेटलाई सुरक्षित रूपमा समात्न सकिने थियो ।

यसै महिना स्टारशिपको १४औँ परीक्षण उडान हुने अपेक्षा गरिएको थियो । उक्त उडानमा रकेट फर्किएपछि प्रक्षेपण टावरमा जडान गरिएका यान्त्रिक हातको सहायताले समात्ने योजना थियो । केही साताअघि मस्कले आगामी उडानमै स्टारशिपलाई टावरबाट समात्न सकिने सम्भावना व्यक्त गरेका थिए । तर पछिल्लो भनाइले उक्त योजना पछि सरेको देखाएको छ । मस्कले अब स्टारशिपको अर्को उडान यस वर्षको अन्त्यतिर वा आगामी वर्षको सुरुवातमा हुन सक्ने अनुमान गरेका छन् । यद्यपि, यसको निश्चित मिति भने सार्वजनिक गरिएको छैन । स्टारशिप परियोजनामा यसअघि पनि पटक–पटक समयसीमा परिवर्तन हुँदै आएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टेमिस कार्यक्रमका लागि स्टारशिप प्रविधि महत्वपूर्ण मानिएको छ । आर्टेमिस-३ अभियान सन् २०२७ का लागि तय गरिएको छ । त्यसअन्तर्गत पृथ्वीको तल्लो कक्षामा अन्तरिक्षयान र चन्द्रमा अवतरण गर्ने यानबीच भेट तथा जोड्ने प्रक्रियाको परीक्षण गर्ने योजना छ ।

त्यसपछि आर्टेमिस-४ अभियानमार्फत सन् २०२८ मा मानिसलाई चन्द्रमामा उतार्ने दिशामा अघि बढ्ने योजना रहेको छ । आर्टेमिस-३ का लागि स्टारशिपलाई हावामै समात्नु अनिवार्य नभए पनि भविष्यका चन्द्रमा अभियानका लागि छिटोछिटो रकेट प्रक्षेपण गर्न सक्ने क्षमता महत्वपूर्ण हुने बताइएको छ । चन्द्रमा अवतरण गर्ने यानलाई पृथ्वीको कक्षामै इन्धन भर्नका लागि धेरैपटक रकेट प्रक्षेपण गर्नुपर्ने हुन सक्छ ।

सामान्यतया अन्तरिक्षमा पठाइएको रकेट फर्किएपछि समुद्रमा अवतरण गराइन्छ । त्यसपछि त्यसलाई पुनः प्रयोग गर्न कठिन हुने भएकाले नयाँ रकेट तयार गर्नुपर्ने हुन्छ । यसले अन्तरिक्ष अभियानको खर्च बढाउछ । स्पेसएक्सले रकेटलाई पुनः प्रयोग गर्न मिल्ने बनाउने प्रविधिको परीक्षण गरिरहेको छ । स्टारशिप फर्किएपछि प्रक्षेपण टावरमा जडान गरिएका यान्त्रिक हातले रकेटलाई समात्ने योजना कम्पनीको छ । यसबाट रकेटलाई क्षति हुने सम्भावना घट्ने र पुनः प्रयोग गर्न समय तथा खर्च कम हुने अपेक्षा गरिएको छ ।

मस्कले भविष्यमा प्रत्येक दिन स्टारशिप प्रक्षेपण गर्न सकिने अवस्थामा पुग्ने दाबी गर्दै आएका छन् । उनले भविष्यमा दैनिक प्रक्षेपणको संख्या अझ बढ्न सक्ने बताएका छन् । स्टारशिपको ताप प्रतिरोधी आवरणसँग सम्बन्धित समस्या पनि धेरै हदसम्म समाधान गरिएको उनको दाबी छ । यही प्रगतिका आधारमा कम्पनीले फर्किएको रकेटलाई प्रक्षेपण टावरबाटै समात्ने महत्वाकांक्षी योजना अघि बढाइरहेको छ ।