
सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको सिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताएका छन् ।
मधेस प्रदेशका सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले चन्द्र नहरलाई आधुनिक सिँचाइको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने बताए । नहरको सुरक्षा, मर्मतसम्भार र पुनरुद्धारका लागि स्थानीय तह, उपभोक्ता र समुदायसँग सहकार्य गर्ने उनको भनाइ छ।


चन्द्रशमशेरको शासनकालमा निर्माण सुरु भएको चन्द्र नहर त्रियुगा नदीको पानीबाट सप्तरीका करिब १० हजार ५०० हेक्टर कृषि भूमिमा सिँचाइ पुर्याउने नेपालको पहिलो आधुनिक राज्यनिर्मित सिँचाइ प्रणालीका रूपमा चिनिन्छ । करिब एक शताब्दी पुरानो संरचनाले अहिले पनि किसानका खेतमा पानी पुर्याइरहेको भन्दै मन्त्री श्रेष्ठले यसको ऐतिहासिक र प्राविधिक महत्व नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठका अनुसार चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोगको विश्व सम्पदा सिँचाइ संरचनाको सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा मन्त्रालयले काम अघि बढाइरहेको छ । जापान सरकारको अनुदान सहयोगमा नहरका ३२ संरचना मर्मत तथा पुनर्निर्माणसमेत गरिएको छ ।
जीर्णोद्धारपछि सिँचित क्षेत्र करिब ५ हजार ५०० हेक्टरबाट बढाएर १० हजार ५०० हेक्टर पुर्याउने लक्ष्य राखिएको छ । मन्त्री श्रेष्ठले नहरको दिगोपनाका लागि नियमित मर्मतसम्भारसँगै स्थानीय तह र सिँचाइ उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । चन्द्र नहर क्षेत्रलाई कृषि, इतिहास र पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।





