
सञ्जय मिश्रा
पटना, ८ भदौ । बिहारमा अपराध तथा नक्सली गतिविधिविरुद्ध विशेष कार्यदल एसटीएफले सञ्चालन गरेको अभियानका क्रममा सन् २०२६ को जनवरी १ देखि अगस्ट १६ सम्म १ हजार ७१६ जना अपराधी तथा नक्सली पक्राउ परेका छन्।

बिहार एसटीएफका डिआईजी सञ्जय कुमार सिंहले आईतवार पटनामा आयोजित पत्रकार सम्मेलनमा अभियानबारे जानकारी दिँदै उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।
उनका अनुसार यस अवधिमा एसटीएफ र अपराधीबीच १९ वटा दोहरो भिडन्त भएका छन्। ती भिडन्तमा ३ जना इनामी अपराधी मारिएका छन् भने १८ जना अपराधी घाइते भएका छन्।


एस टीएफको कारबाहीमा पक्राउ पर्नेमा ६३ जना इनामी अपराधी रहेका छन्। त्यस्तै, प्रहरीको टप-१० तथा टप-२० वान्टेड सूचीमा रहेका १६५ जना अपराधी समेत पक्राउ परेका छन्।

अभियानका क्रममा ठूलो मात्रामा अवैध हतियार तथा गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। अपराध नियन्त्रणसँगै नक्सली गतिविधि नियन्त्रण तथा संगठित अपराधी गिरोहमाथि निगरानी बढाइएको पनि डिआईजी सिंहले बताएका छन्।


२ हजार १८८ किलोभन्दा बढी लागुऔषध बरामद
एस टीएफको नार्कोटिक्स सेलले पनि यस अवधिमा ठूलो सफलता हासिल गरेको जनाएको छ। सेलले १६३ जना लागुऔषध कारोबारी तथा आरोपीलाई पक्राउ गरेको छ।
कारबाहीका क्रममा २ हजार १८८ किलोग्रामभन्दा बढी लागुऔषध बरामद गरिएको छ। बरामद लागुऔषधमा गाँजा, डोडा, अफिम, चरेस/ह्यासिस तथा हेरोइन/स्म्याकलगायत पदार्थ रहेको प्रहरीले जनाएको छ।

भरत तिवारीको मृत्यु १९ भिडन्त तथ्यांकमा छैन
पत्रकार सम्मेलनमा भरत तिवारीको मृत्युको विषय पनि प्रमुख रूपमा उठेको थियो। त्यसबारे डिआईजी सिंहले भरत तिवारीको मृत्युको घटना हालसम्म सार्वजनिक गरिएको १९ वटा मुठभेडको तथ्यांकमा समावेश नगरिएको स्पष्ट पारेका थिए।
उनका अनुसार भरत तिवारीको मृत्युको घटनाबारे अनुसन्धान जारी छ। उक्त घटनाको छानबिनका लागि न्यायिक जाँच आयोगसमेत गठन भई काम गरिरहेको छ।
जाँच पूरा भएपछि मात्रै घटनाको वास्तविक प्रकृति तथा त्यसलाई मुठभेडका रूपमा वर्गीकरण गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय हुने जनाएको छ।

एसटीएफले अपराधी तथा संगठित गिरोहमाथि प्रत्यक्ष कारबाहीसँगै सम्भावित आपराधिक घटना रोक्न खुफिया सूचना संकलन र निगरानीलाई समेत तीव्रता दिएको जनाएको छ।
एस टीएफका अनुसार हालसम्मको आधिकारिक तथ्यांक १९ वटा भिडन्त हो। भरत तिवारीको मृत्युको घटना अनुसन्धान पूरा नभएसम्म उक्त तथ्यांकमा जोडिने छैन।




