
काठमाडौं । न्युजील्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने विधेयक संसदमा पेस गर्ने भएको छ ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सामाजिक सञ्जालबाट बालबालिकामा भइरहेको असर रोक्न विधेयक ल्याउन लागिएको बताएका छन् ।


प्रस्तावित विधेयकअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले प्रयोगकर्ताको उमेर पुष्टि गर्नुपर्ने, नियम उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

लक्सनले सामाजिक सञ्जालका हानिकारक सामग्री, लत लाग्ने प्रविधि र विभिन्न दबाबका कारण बालबालिकाको पारिवारिक जीवन, मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा असर परेको बताएका छन् । तर गठबन्धनमा रहेको न्युजील्यान्ड फर्स्ट पार्टीले भने विधेयकको समर्थन नगर्ने जनाएको छ ।
यसअघि अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन लागू गरेको थियो । न्युजील्यान्डका प्रधानमन्त्री लक्सनले सबै बालबालिकालाई सामाजिक सञ्जालबाट पूर्ण रूपमा रोक्न कठिन भए पनि उनीहरूको सुरक्षाका लागि प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।





