
काठमाडौँ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुगेका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् भने युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किभस्थित सेन्ट सोफिया गिर्जाघरअगाडि आयोजित कार्यक्रममा बोल्दै बर्नहमले रुसविरुद्ध युक्रेनले गरिरहेको प्रतिरोधलाई नाजी जर्मनीविरुद्ध बेलायतले गरेको संघर्षसँग तुलना गरेका छन् । उनले आगामी जाडोयामअघि युक्रेनको हवाई सुरक्षा क्षमता थप बलियो बनाउन बेलायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बर्नहमले रुसबाट बेलायतलाई दिइएका धम्कीका बाबजुद युक्रेनलाई निरन्तर सहयोग गरिरहने बताएका छन् ।


उनले रुसमाथि दबाब कायम राख्ने र युद्धका लागि आवश्यक आर्थिक स्रोत जुटाउने उसको क्षमता कमजोर पार्ने समय आएको बताएका छन् । बर्नहमले युक्रेनी जनताको प्रतिरोध क्षमतालाई असाधारण भन्दै युक्रेनले युरोपको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन् । उनले युक्रेन युरोपको सुरक्षामाथि बोझ नभई युरोपलाई सुरक्षित राख्ने अग्रपंक्तिमा रहेको बताएका छन् । युक्रेनी जनताले निरन्तर सहयोगसँगै बेलायत र युरोपको सम्मान तथा कृतज्ञता पनि पाउनुपर्ने उनको भनाइ छ ।

बेलायतले रुसविरुद्धको युद्धमा सहयोग पुर्याउन युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र निर्माणसम्बन्धी गोप्य प्रविधि उपलब्ध गराउने भएको छ । यससँगै युक्रेनमै स्काल्प क्षेप्यास्त्र उत्पादन गर्ने बाटो खुल्नेछ । बेलायतमा यही क्षेप्यास्त्रलाई स्टोर्म स्याडो भनिन्छ । युरोपेली हतियार निर्माता एमबिडीएले निर्माण गरेको स्काल्प विमानबाट प्रहार गर्न सकिने लामो दूरीको क्षेप्यास्त्र हो । यसको मारक क्षमता करिब ५५० किलोमिटर रहेको छ । यसमा करिब ४०० किलोग्राम विस्फोटक पदार्थ राख्न सकिन्छ । बेलायतको निर्णयप्रति रुसले कडा असन्तुष्टि जनाएको छ । बेलायतस्थित रुसी दूतावासले बेलायतले जानाजानी युद्धलाई थप चर्काइरहेको आरोप लगाउँदै युद्धमा बेलायतको संलग्नता बढ्दै गए त्यसको मूल्य पनि चुकाउनुपर्ने चेतावनी दिएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री बर्नहमले युक्रेनको सुरक्षालाई बेलायतको सुरक्षासँग जोड्दै आफ्नो देश लामो समयसम्म युक्रेनको साथमा रहने बताएका छन् । युक्रेनले पनि आफ्नै लामो दूरीका क्षेप्यास्त्र र ड्रोन निर्माण क्षमता विस्तार गरिरहेको छ । युक्रेनी कम्पनी फायर पोइन्टले करिब ३ हजार किलोमिटरसम्म मार हान्न सक्ने एफपी-५ फ्लेमिङ्गो क्षेप्यास्त्र निर्माण गरेको दाबी गरिएको छ । यसको बढ्दो लामो दूरीको आक्रमण क्षमताले रुसमाथि थप दबाब बढाएको छ ।





