
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन सोमबारका लागि बोलाइएको बैठक स्थगित गर्न कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनले माग गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक कुमारी तामाङलगायतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी विषयमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा दिएको निवेदनमाथि सोमबार बहस भएको थियो। अदालतले उक्त मुद्दामा भदौ १० गते छलफलका लागि पेसी तोकेको छ ।


मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा त्यससँग सम्बन्धित विश्वासको मतको विषयमा प्रदेशसभामा छलफल गर्नु संविधानको धारा १९१ विपरीत हुने कांग्रेसको दाबी छ ।
त्यसैले अदालतबाट अर्को निर्णय नआएसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै प्रमुख सचेतक महर्जनले प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।





