विश्व बक्सिङ च्याम्पियन अफ्रिकी बक्सर टेटेको हत्यामा संलग्न चार पक्राउ

काठमाडौं, ९ भदौं ।दक्षिण अफ्रिकी बक्सर जोलानी टेटेको गोली हानी हत्या गरिएको घटनामा चार जना पक्राउ परेका छन्।

दक्षिण अफ्रिकी प्रहरीले गत साता गोली प्रहारबाट मारिएका दुई पटकका बक्सिङ विश्व च्याम्पियन जोलानी टेटेको हत्याको सम्बन्धमा चार जनालाई पक्राउ गरेको जनाएको हो।

सप्ताहांतमा पक्राउ परेका ती चार जना संदिग्धको उमेर २२ देखि २८ वर्षको बीचमा रहेको प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूमध्ये एक जनाविरुद्ध औपचारिक रूपमा हत्याको अभियोग लगाइएको छ। पूर्वी केप प्रान्तको मदान्त्सानस्थित आफ्नो घर फर्कने क्रममा शुक्रबार साँझ ३८ वर्षीय टेटेमाथि आक्रमण भएको थियो।

प्रहरीका अनुसार उनीसँगै कारमा रहेकी २७ वर्षीया महिला बाँच्न सफल भइन् तर उनी अहिले अस्पतालमा छिन्। टेटेले सन् २०१४ मा आइबिएफ जुनियर ब्यान्टमवेट विश्व उपाधि र सन् २०१७ मा डब्लुबिओ ब्यान्टमवेट विश्व उपाधि जितेका थिए।

सन् २०१७ मा, आफ्नो डब्लुबिओ ब्यान्टमवेट उपाधि रक्षा गर्ने क्रममा पहिलो मुक्कामै प्रतिद्वन्द्वीलाई ढलाउन केवल ११ सेकेन्ड लगाएर उनले बक्सिङको इतिहास रचेका थिए। विश्व च्याम्पियनसिपको भिडन्तमा यो सबैभन्दा छिटो ‘नकआउट’ जित थियो।

सन् २०२३ मा, बेलायतको एन्टी डपिङ एजेन्सीले टेटेमाथि चार वर्षको प्रतिबन्ध लगाएको थियो, जुन जुलाई २९ मा सकिएको थियो र उनी व्यावसायिक बक्सिङमा फर्कने तयारी गरिरहेका थिए।

हत्या पछि जारी गरिएको विज्ञप्तिमा खेलकुद मन्त्री गेल्टन म्याकेन्जीले भने, ‘दक्षिण अफ्रिकाले आफूले जन्माएका उत्कृष्ट लडाकुहरूमध्ये एकलाई गुमाएको छ, उनी रिङमा फर्कने तयारी गरिरहेका थिए। उनलाई विश्वास थियो कि उनीसँग अझै पनि देशलाई दिने केही कुरा बाँकी छ। उनी सही थिए तर अब उनले त्यो मौका पाउने छैनन्। उनी र हामी सबै ठगिएका छौं,’ उनले भने ।