लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पार्टी निर्देशनविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ ।

पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भएपनि तीनै सांसदले उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि स्पष्टीकरण मागिएको थियो ।

उनीहरूले बुझाएको स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनसँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको पार्टीले जनाएको छ ।

पार्टीले पुनः स्पष्टीकरणमा पार्टी निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्णयविपरीत सदस्यले काम गर्न मिल्ने वा नमिल्ने र यस्तो कार्यलाई पार्टी विधान तथा निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा मागेको छ ।

तीनै सांसदलाई २४ घण्टाभित्र पार्टी केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा जवाफ चित्तबुझ्दो नभएमा पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रमा पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराइएको छ ।