दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी रुबिना खातुनकी दुई वर्षीया छोरीलाई उनकी कान्छी आमाले हत्या गरी घरपछाडिको झाडीमा फालेको आरोप छ ।

घटनापछि प्रहरीले आरोपितलाई तत्काल पक्राउ गरी सोधपुछ गर्दा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको जनाएको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल शम्भुनाथ–३ ट्राफिक बजारमा बस्दै आएकी करिब २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेकी छन् । घटना २०८३ भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित बालिकाको घरपछाडिको झाडीमा भएको प्रहरीले जनाएको छ ।

मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गरिएको छ । सप्तरी जिल्ला अदालतबाट सोही दिनदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।