
काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ । फोरमको मंगलवार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो ।
फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो ।


फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने उहाँले बताउनु भयो ।





