भारतद्वारा चार वर्षपछि गहुँ निर्यातमा लगाइएको प्रतिवन्ध फुकुवा

भारत सरकारले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा विगत चार वर्षदेखि कायम रहेको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले एक आधिकारिक सूचना जारी गर्दै किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले निर्यातमा लगाइएको रोक फुकुवा गरिएको जनाएको हो ।

सन् २०२२ को मे महिनादेखि भारतले गहुँ निर्यातमा पूर्ण प्रतिवन्ध लगाएको थियो ।

महानिर्देशनालयको नयाँ सूचनाअनुसार गहुँको निर्यात नीतिलाई ‘निषेधित’ श्रेणीबाट हटाएर तत्कालै लागू हुने गरी ‘खुला’ (निःशुल्क) बनाइएको छ ।

भारत सरकारले देशमा गहुँको पर्याप्त मौज्दात रहेको दाबी गर्दै यो कदम चालेको हो । यस निर्णयले कृषक समुदायलाई आगामी वर्षहरूमा गहुँको उत्पादन बढाउन थप प्रोत्साहन मिल्ने सरकारको विश्वास छ ।