
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुन्द्रिक नाकाहरू (चोक पोइन्ट्स) बाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक ‘विश्वास निर्माण संयन्त्र’ निर्माणका लागि संवद्ध पक्षहरूसँग सहयोगको आह्वान गर्नुभएको छ ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले होर्मुज जलडमरूमध्यको संकट सम्बोधनका लागि गत मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयवद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभयो ।

यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र सोसँग सम्बन्धित कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अन्य उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।


यो संयन्त्रको मुख्य उद्देश्य तत्कालका जोखिमहरू न्युनिकरण गर्ने, ढुवानी प्रक्रियालाई व्यवस्थित र अनुमानयोग्य बनाउने तथा कुटनीतिक संवाद र तनाव कम गर्न आवश्यक विश्वासको वातावरण पुनःनिर्माण गर्नु रहेको महासचिवको भनाइ छ ।




