सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सरकार उदार नीति अवलम्वन गर्न तयार छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

टेक स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रका उद्यमीहरूसँगको विशेष छलफलका क्रममा उहाँले यस क्षेत्रमा रहेका नीतिगत तथा कानूनी अड्चनहरू फुकाउँदै नेपाली ट्यालेन्टलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो ।

भूपरिवेष्ठित राष्ट्र भएको कारणले नेपालको विकासका लागि ‘डिस्टेन्सलेस र वेटलेस’ (भौगोलिक दूरी र तौलको प्रभाव नपर्ने) आर्थिक मोडालिटी उपयुक्त हुने उल्लेख गर्दै अर्थमन्त्रीले सेवा निर्यातमा जोड दिनुपर्ने बताउनु भयो ।

विगत १२–१५ वर्षदेखि आफूले यस अवधारणामा वकालत गर्दै आएको स्मरण गर्दै उहाँले सन् २०२२ मा ‘आईआईडीएस’ ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले आईटी क्षेत्रको सम्भावनालाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको उल्लेख गर्नुभयो ।