
धादिङ । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
रसुवा जिल्ला प्रशासन कार्यालयबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको जनाउँदै धादिङ प्रशासनले त्रिशूली नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम हुनसक्ने भएकाले नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति र मजदुरलाई नदीमा नजान अनुरोध गरेको छ । नदीमा गइसकेकाहरूलाई तत्काल सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ ।


त्रिशूली नदी आसपासका क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

आपतकालीन अवस्थामा नेपाल प्रहरी: १००, सशस्त्र प्रहरी बल नेपाल: १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र: १३४९ वा ०१०–५३२१४६४, जिल्ला प्रशासन कार्यालय, धादिङ सूचना अधिकारी: ९८५१२९६१३१ र जिल्ला प्रहरी कार्यालय, धादिङ सूचना अधिकारी: ९८५१२२९६६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।
प्रशासनले नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।





