भोटेकोशी बाढी: कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा लाग्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोवास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् ।

उनले नेकपा एमालेका पार्टी समिति, जनसंगठन तथा स्वयंसेवकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

बाढीको जोखिम बढिरहेका बेला नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सावधानी अपनाउन र प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत ओलीले आग्रह गरेका छन् ।