
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । बाढीका कारण कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल क्षमता ४०६.१ मेगावाट रहेको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रभावित भएको छ ।

प्रभावित आयोजनामध्ये १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सान्जेन, ४२ दशमलव ५ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजना प्रत्यक्ष प्रभावित भएको विवरणमा उल्लेख छ ।


त्यस्तै, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन, १४.८ मेगावाटको माथिल्लो मैलुङ र ५ मेगावाटको मैलुङ आयोजना पनि प्रभावित भएका छन् । यससँगै २५ मेगावाट क्षमताको नेपाल विद्युत् प्राधिकरणको सौर्य आयोजना पनि बाढीका कारण प्रणालीबाट बाहिरिएको छ ।
उपलब्ध विवरणअनुसार प्रभावित आयोजनामध्ये रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’, त्रिशूली र देवीघाट आयोजना नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी वा आयोजनासँग सम्बन्धित छन् भने लाङटाङ जलविद्युत् आयोजना निजी क्षेत्रको आयोजना हो ।

बाढीका कारण आयोजना तथा विद्युत् संरचनामा परेको क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको छ ।




