विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमाः आठ हेलिकप्टर परिचालन, त्रिशूली अस्पताल तयारी अवस्थामा

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार बिहान ९ बजे भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

छलफलपछि नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको जिउधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो । नेता आङदेम्बेकाअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठवटा हेलिकप्टर परिचालन गरिसकिएको छ ।

उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडहरूलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ । यस्तै, घाइतेहरूको उपचारका लागि त्रिशूलीस्थित सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो ।