बाढीले ठूलो क्षति गरेको छ, जतिसक्दो छिटो उद्धार गरौँः मोहन आचार्य

रसुवाका सांसद एवं नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति गरेको बताउनुभएको छ । उहाँले गतवर्ष आएको बाढीभन्दा यस पटकको बाढी ठूलो र विनाशकारी रहेकोले रसुवा, नुवाकोट र धाँदिङमा ठूलो क्षति गरेको बताउनुभएको हो ।

बुधवार पत्रकारहरुसँग सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि कुरा गर्दै उहाँले बाढी प्रभावित क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरको प्रयोग गरेर उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

प्रभावित क्षेत्रमा नागरिकहरू त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको उहाँले बताउनु भयो । उहाँले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बताउनु भयो ।