
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताएका छन् । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै उनले प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्री शाहले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्र बनाइएको बताएका छन् । बाढी आएलगत्तै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायका हजारौँ जनशक्ति उद्धार तथा खोजीमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेलाई तत्काल काठमाडौँ ल्याएर उपचार भइरहेको उनले जानकारी दिएका छन् । घाइतेको निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको र उपत्यकाका अन्य ठूला अस्पताललाई पनि घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताए । प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीसमेत पठाइएको उनले आफ्नो पोस्टमा उल्लख गरेका छन् । आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स क्लब र नेपाल स्काउटलगायतका संस्थासँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका र ती क्षेत्रमा प्रभावित परिवारका लागि खानेकुरा, सुरक्षित खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने प्रधानमन्त्री शाहले बताएका छन् ।उनका अनुसार बाढीबाट भत्किएका सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिनेछ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना रहेको उनले बताएका छन् । प्रधानमन्त्री शाहले आज रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने बताउदै बाढीमा बेपत्ता नागरिकको खोजी, घाइतेको विवरण संकलन र क्षतिको विस्तृत विवरण तयार गर्ने काम निरन्तर अघि बढाइने उनले बताएका छन् । उनले बाढी प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै सरकार सम्पूर्ण साधन र स्रोतसहित उनीहरूको साथमा रहेको उल्लेख गर्दै प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रधानमन्त्री शाहले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार र राहत अभियानमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।


२- भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १९६ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । प्राप्त विवरणअनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत त्रिशूली जलविद्युत् कम्पनीका २१ जना कर्मचारी सम्पर्कविहीन छन् । सोही आयोजनाको साइटमा चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत थप ११ जना पनि सम्पर्कमा छैनन् । त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको विद्युतगृह क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपासका एक जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्रिशूली–३ ए जलविद्युत् केन्द्रको विद्युत्गृहमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार समेत सम्पर्कविहीन छन् । त्यसैगरी, चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत ९२ जना सम्पर्क विहिन रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । यसैगरी, नेपाल विद्युत् प्राधिकरणको त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी सम्पर्कविहीन छन् भने रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे विद्युत्गृहको स्विचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका मिटर रिडर पनि सम्पर्कमा नरहेको जनाइएको छ । त्यस्तै, त्रिशूली–२२० केभी, ३ बी हबमा ठेकेदार कम्पनीतर्फबाट कार्यरत १६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन रहेका सबैको अवस्था तत्काल यकिन हुन नसकेको जनाइएको छ । उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

३- भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ । बाढीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको जनाएको छ। विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था समेत अपनाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत संरचनामा उल्लेख्य क्षति पुगे पनि प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत सेवा नियमित गर्ने उद्देश्यले मर्मत तथा पुनःस्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। उपलब्ध सबै स्रोतसाधन परिचालन गरी विद्युत आपूर्ति नियमित गर्न प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जामार्फत तत्काल विद्युत सेवा उपलब्ध गराउन आवश्यक संयन्त्र परिचालन गरेको जनाएको छ । भीषण बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ। बाढीका कारण कुल ४३१ दशमलव १ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता ४०६ दशमलव १ मेगावाट रहेको छ। त्यस्तै, प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना समेत प्रभावित भएको छ । प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्थाबारे थप मूल्याङ्कन गर्दै विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्ने काम भइरहेको जनाएको छ ।
४- पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढ्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको बताएका छन्। बाढीबाट सडक, पुल, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेकोप्रति उनले दुःख व्यक्त गरेका छन् । प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वराजा शाहले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता नागरिकको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गरेका छन् । विपद्को यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका काममा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई उनले आग्रह गरेका छन् । सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनसमेत उनले अपिल गरेका छन् । पूर्वराजा शाहले सीमासँग जोडिएका छिमेकी देशमा आउने प्राकृतिक विपत्तिको असर अर्को देशमा समेत प्रत्यक्ष पर्न सक्ने भएकाले यस्ता विपद्को क्षति न्यूनीकरणका लागि छुट्टाछुट्टै प्रयासभन्दा तीन देशबीचको संयुक्त प्रयास अझ प्रभावकारी हुन सक्ने बताएका छन् । यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न नेपाल, चीन र भारतबीच आवश्यक समन्वय र सहकार्यबारे सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।

५- भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा रातिमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बुधबार रातिदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो । बाढीका कारण धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा सडकमा लेदो जमेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
६- प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सुचना प्रकाशित गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको हो । भोटेकोशीमा आएको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । संघीय संसद सचिवालयले भनेको छ- ‘मिति २०८३ भदौ ११ गते बिहीबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’


७- अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले दोस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा नेपाल ए ले एसिटीलाई ४ विकेटले पराजित गरेको हो । एसिटीले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ६१ रन बनाएका थिए भने पवन सराफले २९ र मयन यादवले २१ रन बनाएका थिए । त्यस्तै एसिटीका बलर जाक केओघले ३ विकेट तथा जीत मेहताले २ विकेट लिएका थिए । यसअघि टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका लागि डाइलान हन्टरले सर्बाधिक ४४ रन बनाए भने अंश तिवारीले १९ र जाक स्मिथले १४ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ३ र युवराज खत्रीले २ विकेट लिएका थिए भने पवन सराफ, विपिन कह्त्री र शाहब आलमले एक एक विकेट लिए । योसहित नेपाल ए ले ४ खेलमा दोस्रो जित हासिल गरेको छ । शुरुवाती दुवै खेलमा हार बेहोरेर खराब शुरुवात गरेको नेपाल ए ले त्यसपछिका दुवै खेल जितेको छ । प्रतियोगितामा नेपाल ए ले अर्को खेल अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।
८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् । उनले नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउदै उद्धार तथा राहत कार्यका लागि दुवै देशका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको मोदीले उल्लेख गरेका छन् । मोदीले नेपालमा बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
९- प्लानेट ल्याब्सका उपग्रह तस्बिरको विश्लेषणमा आधारित प्रारम्भिक अध्ययनले नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको देखाएको छ । प्रारम्भिक अध्ययनअनुसार उक्त हिम–चट्टान पहिरो नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको नेपाल–चीन सीमाक्षेत्रमा गएको हो । पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी उत्पन्न भएको र बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको अध्ययनले देखाएको छ । यसै बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ । उपग्रह तस्बिरको थप विस्तृत अध्ययन तथा स्थलगत विवरणपछि बाढीको वास्तविक कारण र क्षतिको अवस्थाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीलाई दुःख तथा हैरानी दिई घुस मागेको सूचना तथा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनीहरूकै आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको खुलेको अख्तियारले जनाएको छ । कागजमा देखाउनका लागि मात्र उपभोक्ता समिति गठन गरी समितिले पूरा गर्नुपर्ने प्रक्रिया तथा आवश्यक कागजातसमेत उनीहरूले आफैं तयार गराएको अनुसन्धानबाट खुलेको छ। उपभोक्ता समितिको छाप तथा अध्यक्षको हस्ताक्षरसमेत गराई भुक्तानी दिने व्यवस्था मिलाएबापत सेवाग्राहीसँग घुसको रकम बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको दाबी छ । आयोगले ढकाल र चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ । अख्तियारले दुवै जनाविरुद्ध ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ । आयोगले उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
११- रसुवामा बुधबार बिहान आएको आकस्मिक भोटेकोशी बाढीपछि ३८४ जना यात्रु सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले बुधबार जारी गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् । सम्पर्कविहीन विदेशी नागरिकमध्ये १०५ जना भारतीय, १७ जना मलेसियाली, ३ जना अमेरिकी, १२ जना बेलायती र ४ जना दक्षिण अफ्रिकी नागरिक रहेका छन् । अन्य यात्रुको राष्ट्रियता पहिचान हुन बाँकी रहेको बोर्डले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका यात्रुहरू विभिन्न यात्रा तथा पर्यटन संस्थामार्फत भ्रमणमा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । बोर्डले प्रभावित क्षेत्रमा रहेका यात्रुको अवस्थाबारे थप विवरण संकलन तथा समन्वय भइरहेको जनाएको छ ।
१२- नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ । काँग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरेर भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा खटिने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिएका हुन् । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा राहत र उद्धारमा खटिने बताएका छन् । त्यस्तै काँग्रेसको विपद व्यवस्थापन उपसमितिलाई पनि बाढी प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।
१३- नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपरा हेवाखोला हाइड्रोको शेयर १०.४३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रसुवागढी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी चिलिमे हाइड्रो पावरको २० करोड ५६ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १९ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले नागरिकलाई बचाउन सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले भोटेकोसीमा आएको बाढीको विपत्तमा नागरिक बचाउन सरकार लागिसकेको जानकारी गराएका हुन् । लामिछानले बाढीको सूचना पाउनासाथ आफुले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल र सूचना आदनप्रदानमा रहेको बताउदै सरकारलेनागरिक बचाउन सम्पूर्ण सामर्थ्य लगाउने बताएका हुन् । उनले भने- ‘सरकारले सम्पूर्ण सामार्थ्य लगाउनेछ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले मैले सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु । मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउनेछ ।’ लामिछानेले पिडितमा जाने राहतमा एकद्वार प्रणाली हुनुपर्ने भन्दै यस विषयमा सरकारले स्पष्ट गर्ने बताए । उनले विगतका अनुभवको आधारमा एकद्वार प्रणालीबाट राहत दिदा प्रभावकारी हुने धारणा राखेका छन् । उनले सबै राजनीतिक दल, संघसंस्थाहरुमा विपदसम्बन्धि प्रशिक्षण लिएका जनशक्ति राहत र उद्धारको अग्रपंक्तिमा आउन समेत आव्हान गरेका छन् ।
१५- रसुवाको सीमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम यस्तो निर्णय गरिएको जानकारी दिएको छ । त्यस्तै, बाढीबाट घाइते भएकाको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ भने त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताललाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ । त्यस्तै, बाढीमा घाइते भएका तथा बेपत्ता व्यक्तिको तत्काल खोज तथा उद्धार गरी सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्न गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्ने र आवश्यक सबै साधन परिचालन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ । बाढीका कारण घरबास गुमाएका नागरिकलाई सुरक्षित स्थानमा सारेर खानेबस्ने व्यवस्था मिलाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था शीघ्र मिलाउने निर्णय पनि सरकारले गरेको छ। यसको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिइएको छ । त्यसैगरी बाढीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ । अवरुद्ध दूरसञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन सञ्चार तथा सूचना मन्त्रालयलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको छ । बाढीबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । बाढीबाट क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउने र पुनर्निर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्थापन तथा समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ । सरकारका यी निर्णयले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, उपचार, राहत, सुरक्षित स्थानान्तरण तथा अवरुद्ध पूर्वाधार सञ्चालनलाई प्राथमिकतामा राखेको देखिन्छ ।

१६- चीनबाट त्रिशूली नदीमा आएको बाढीले धादिङमा पनि ठुलो क्षति भएको छ । धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बाढीले बगाएको छ । फुर्केखोला-परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी जाने सहज सम्पर्क टुटेको हो । त्यस्तै पक्की पुलहरू बगाएको छ भने विभिन्न बस्तीमा बाढी बसेको छ । प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिममा रहेका बस्ति सार्न लागिएको बताएको छ ।
१७- नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए । टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ । नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।
१८- काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचचिगेलाई भित्र्याएको छ । बुधबार काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत ३० वर्षीय सहानलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । सहानले श्रीलंकाका लागि पाँच एकदिवसीय र एक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अन्तर्राष्ट्रिय अनुभव कम भएपनि सहानले हालै सम्पन्न लंका प्रिमियर लिग (एलपिएल) मा गाल ग्लाडिएटर्सलाई पहिलोपटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्दै ११ खेलमा २४० रन बनाएका थिए । काठमान्डु गोर्खाजले भित्र्याएका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि भारतका विकेट किपर ब्याट्सम्यान केएस भरतलाई भित्र्याएको थियो । करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ ।
१९- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक सयले घटेर तोलाको ३ लाख २२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९०० मा कारोबार भएको थियो ।
२०- अमेरिकामा कडा बन्दै गएको भिसा जाँच र आप्रवासन नीतिको प्रभाव विदेशी विद्यार्थीको आवेदनमा देखिन थालेको छ । सन् २०२६–२७ को शैक्षिक सत्रका लागि स्नातक तहमा समग्र आवेदन बढे पनि मार्च १ सम्म विदेशी विद्यार्थीका आवेदन १० प्रतिशतले घटेका छन् । यो अहिलेसम्मकै ठूलो गिरावट भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय शिक्षा संस्थानका तथ्यांकअनुसार सन् २०२५ को शरद् सत्रमा अमेरिका आएका नयाँ विदेशी विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले घटेको थियो । सन् २०२६ को वसन्तमा गरिएको आकलनले आगामी शरद् सत्रमा पनि विदेशी विद्यार्थीको कुल भर्ना घट्न सक्ने देखाएको छ । एसिया र अफ्रिकाबाट अमेरिका अध्ययनका लागि आवेदन दिने विद्यार्थीको संख्या घटेको छ । प्रतिष्ठित विश्वविद्यालयमा यसको प्रभाव तुलनात्मक रूपमा कम पर्ने अनुमान गरिएको छ भने मध्यम स्तरका निजी कलेज तथा क्षेत्रीय सार्वजनिक विश्वविद्यालय बढी प्रभावित हुन सक्ने देखिएको छ । यस्ता संस्थाहरू विदेशी विद्यार्थीबाट प्राप्त हुने शुल्कमा बढी निर्भर छन् । विदेशी विद्यार्थीको आकर्षण घटेमा बेलायत, अस्ट्रेलिया र सिंगापुरजस्ता देशले त्यसको लाभ लिन सक्ने अनुमान गरिएको छ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार विदेशी विद्यार्थीको संख्या घट्दा अमेरिकी कलेज तथा विश्वविद्यालयको आम्दानीमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ । मध्यम स्तरका निजी कलेज र क्षेत्रीय सार्वजनिक संस्थाहरू पूर्ण शुल्क तिर्ने विदेशी विद्यार्थीमा धेरै निर्भर भएकाले उनीहरू अन्य देशतर्फ आकर्षित भए आम्दानीको कमी पूर्ति गर्न कठिन हुने बताइएको छ । अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी संस्थाको विश्लेषणअनुसार विदेशी विद्यार्थीको भर्नामा आएको गिरावटका कारण यस वर्ष अमेरिकी स्थानीय अर्थतन्त्रमा करिब ३ अर्ब ४० करोड अमेरिकी डलर बराबरको क्षति हुन सक्छ । करिब ४० हजार रोजगारीसमेत जोखिममा पर्न सक्ने अनुमान गरिएको छ । अमेरिका लामो समयदेखि विदेशी विद्यार्थीका लागि प्रमुख अध्ययन गन्तव्य रहँदै आएको छ । भारत र चीन अमेरिकामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीका प्रमुख स्रोत मुलुक हुन् । अमेरिकामा भिसा नीतिलाई लिएर विवाद भइरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले नयाँ एच–१ बी आवेदनका लागि प्रस्ताव गरिएको १ लाख ३ हजार २६५ अमेरिकी डलर शुल्कको समर्थन गरेका छन् । यसअघि १ लाख अमेरिकी डलर शुल्क लगाउने प्रस्ताव अदालतले खारेज गरेको थियो ।




