भोटेकोसीको शिरमा २० लाख घनमिटर पानीको ताल, फुट्ने उच्च जोखिम, आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने- चिनियाँ जलस्रोत मन्त्रालय

भोटेकोसीको शिरमा २० लाख घनमिटर पानीको ताल, फुट्ने उच्च जोखिम, आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने चिनियाँ जलस्रोत मन्त्रालयको अनुमान

काठमाडौँ । नेपाल–चीन सीमा नजिकै चीनको केरूङ क्षेत्रमा भोटेकोसीको शिरमा खोला थुनिएर २० लाख घनमिटर पानी जम्मा भएको ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।

बिहीबार बिहानसम्म उक्त तालबाट पानी ओभरफ्लो भएर बग्न थालेको छ। चिनियाँ मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार आगामी तीन दिनमा सोही क्षेत्रमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ।

मन्त्रालयले उक्त ताल फुट्न सक्ने जोखिम उच्च रहेको जनाएको छ। सम्भावित बाँध फुटेर ठूलो मात्रामा पानी तलतर्फ बगेमा त्यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै चिनियाँ पक्षले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ।

ताल बनेको क्षेत्र नेपाल–चीन सीमा नजिकै केरूङ काउन्टीमा पर्ने छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगमस्थलमा रहेको जनाइएको छ।

चिनियाँ जलस्रोत मन्त्रालयले ताल अचानक फुटेमा अपनाउनुपर्ने आपत्कालीन उद्धार तथा व्यवस्थापनबारे अध्ययन गरिरहेको जनाएको छ। सम्भावित बाँध फुट्ने अवस्थालाई आधार बनाएर विभिन्न काल्पनिक परिस्थितिको अभ्यास तथा जोखिम विश्लेषणसमेत भइरहेको बताइएको छ।

यसैबीच, बुधबार नेपालमा आएको विनाशकारी भोटेकोसी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्राप्त पछिल्लो विवरणअनुसार नेपालमा २७० जनाको शव फेला परेको छ भने करिब एक हजार जना सम्पर्कविहीन रहेको जनाइएको छ।

May be an image of mountain

बाढीका कारण चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरूङ बन्दरगाहमा समेत ठूलो क्षति पुगेको छ। चिनियाँ पक्षले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोली परिचालन गरेको छ।

आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा काम गरिरहेका छन्।

images

चिनियाँ सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म बाढीमा तीन चिनियाँ नागरिकको मृत्यु भएको र दुई जनाको उद्धार गरिएको छ। यस्तै, २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको ग्लोबल टाइम्सले जनाएको छ।

भोटेकोसीको शिरमा थप पानी जम्मा हुने अनुमानसँगै सम्भावित जोखिमलाई लिएर नेपालतर्फ पनि उच्च सतर्कता आवश्यक देखिएको छ।

images

स्रोत : चीनको जलस्रोत मन्त्रालय, सीसीटीभी तथा ग्लोबल टाइम्स