
सञ्जय मिश्रा
रौतहट, ११ भदौ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कम्युनिस्ट पार्टी संसदीय दल, मधेस प्रदेशले विपद्मा परेका नागरिकको खोज, उद्धार तथा राहतमा सक्रिय हुन सबै पक्षलाई अपिल गरेको छ।
संसदीय दलले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन राज्यका निकायसँगै नागरिक समाज, निजी क्षेत्र र आम नागरिकको भूमिका महत्वपूर्ण हुने जनाएको छ।


दलले मधेस प्रदेशका बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीलाई प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन आग्रह गरेको छ।

विपद् व्यवस्थापनमा आफ्नोतर्फबाट योगदान गर्ने निर्णय गर्दै नेपाली कम्युनिस्ट पार्टीबाट मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको एक दिन बराबरको तलब प्रदेशसभा मार्फत केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
मधेस प्रदेशका अर्थमन्त्रीसमेत रहेका पार्टी नेता युवराज भट्टराई ‘समीर’ ले न्युज कारखाना संग कुरा गर्दै उक्त निर्णयबारे जानकारी दिएका हुन्।

राहतमा राजनीति होइन, सहकार्य आवश्यक
भोटेकोसी बाढीले देखाएको क्षतिले विपद् व्यवस्थापनमा तत्कालीन उद्धारसँगै दीर्घकालीन तयारीको आवश्यकता पनि औँल्याएको छ। यस्तो संकटका बेला राजनीतिक दल तथा सरकारका निकायबीच समन्वय कमजोर भए राहत प्रभावितसम्म पुग्न ढिलाइ हुन सक्छ।

त्यसैले प्रदेशसभा सदस्यको एक दिनको तलब सहयोग गर्ने निर्णय आर्थिक रूपमा ठूलो रकम नहुन सक्छ, तर विपद्मा राज्य र राजनीतिक नेतृत्वको जवाफदेहिता तथा ऐक्यबद्धताको प्रतीक बन्न सक्छ। अहिलेको प्राथमिकता प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र विस्थापितलाई सुरक्षित व्यवस्थापन गर्नु रहेको दलले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले विपद्को घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।




