
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका लागि गत बुधवारको बिहान सामान्य कार्यदिन जस्तै थियो ।
बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो कार्यकक्षमा व्यस्त थिए ।

तर ८ बज्न १४ मिनेट बाँकी रहँदा शुरु भएको एउटा प्राकृतिक विपत्तिले उनको जीवन र टिमुरेको भूगोललाई सधैँका लागि बदलिदियो । अधिकृत गैरेकाअनुसार बिहान ८ः४६ बजेतिर अचानक उनको कार्यकक्षमा रहेको कम्प्युटर थर्कन थाल्यो ।


शुरुमा उनलाई भूकम्प आएको आभास भयो ।
ज्यान जोगाउन बाहिर निस्कने क्रममा उत्तरतर्फ (चीनतर्फ) नजर पर्दा उनी स्तब्ध भए । ‘मैले उत्तरतिर हेर्दा सुनामी जस्तै मडारिएर आएको बाढी देखेँ । गत वर्षको बाढी खोलाको सतहभन्दा २० मिटर माथि थियो भने यसपालि बाढीको लेभल नदीको आधार सतहबाट करिब १०० मिटर माथि थियो ।’ उनले कहालीलाग्दो दृश्य सम्झिए ।





