मन्त्रमुग्ध वागमती किनारः जनै फेर्ने र रक्षासूत्र बाँध्ने वैदिक अनुष्ठान (तस्बिरहरु)

वागमतीको सलल बग्ने पवित्र धारा र घण्ट–मृदङ्गको सुमधुर ध्वनिबीच आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीहरूको महान पर्व जनैपूर्णिमा (ऋषितर्पणी तथा रक्षावन्धन) को पावन रौनक पशुपति क्षेत्रमा छताछुल्ल भएको छ । व्रह्ममुहूर्तदेखि नै पशुपतिनाथ मन्दिर, आर्यघाट, भष्मेश्वर घाट, राममन्दिर तथा गुह्येश्वरी परिसरमा हजारौँ भक्तजनहरू नयाँ जनै (यज्ञोपवीत) फेर्न र नाडीमा रक्षासूत्र (डोरो) बाँध्न भेला भएका छन् ।

बिहानीको मन्द हावासँगै गुञ्जिएको ‘येन बद्धो बलि राजा…’ को वैदिक मन्त्रले सारा पशुपति क्षेत्रलाई नै आध्यात्मिक आभामा डुबाइदिएको छ ।

सनातन परम्पराअनुसार आजको दिन सत्य, ज्ञान र आत्मसंयमको प्रतिक मानिने जनै फेर्ने गरिन्छ । पहेँलो र रातो रङ्गको पवित्र डोरो गुरु पुरोहितहरूबाट आफ्नो नाडीमा बाँधेर मानिसहरूले वर्षभरिका अनिष्टबाट मुक्ति र आत्मिक शक्तिको कामना गरिरहेका छन् ।