चीनले दियो सीमाको ताल फुटेको सुचना, तटीय क्षेत्रमा सतर्क रहन अपिल

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेको जानकारी चीनले दिएको छ । अस्थायी ताल फुटेको सूचना नेपालले पाएपछि उद्धार कार्य रोकिएको छ ।

चिनियाँ पक्षका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको हो ।

यसैबीच रसुवातर्फबाट पुनः बाढी आएको सूचना प्राप्त भएपछि नुवाकोट प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रहरीले विदुरलगायत क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई नदी तथा खोलानजिक नजान र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । ‘फेरि बाढी आएको सूचना आएको छ। नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला’ प्रहरीले माइकिङ गर्दै भनेको छ।

भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो । अहिले पुनः बाढीको जोखिम देखिएपछि नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।