
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व रक्षावन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र विश्वासको प्रतीक मानिने यो पर्व नेपालभर र विशेष गरी मिथिलाञ्चल क्षेत्रमा विशिष्ट महत्वका साथ मनाउने गरिन्छ ।
रक्षावन्धनको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र (राखी) बाँधिदिएर उनीहरूको सुख, समृद्धि, सफलता र दीर्घायुको कामना गर्दछन् ।

राखी बाँध्ने क्रममा दिदीबहिनीले दाजुभाइबाट जीवनभर आफ्नो रक्षा गर्ने वचन प्राप्त गर्छन् ।


यसको बदलामा दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार उपहार प्रदान गर्दै सुख–दुःखमा सधैँ साथ दिने र रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । धार्मिक एवं सामाजिक दृष्टिकोणले रक्षाबन्धनलाई केवल एउटा धागो बाँध्ने प्रक्रियाका रूपमा मात्र नभई प्रेम, समर्पण र सम्बन्धको पवित्रताको प्रतीक मानिन्छ । यसमा प्रयोग गरिने ‘सूत्र’ ले एकता र अविच्छिन्न सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।




