
काठमाडौँ, १२ भदौ।त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ। बाढीमा सयौँ व्यक्तिहरु परेका छन् केहीको शव फेला परे पनि सम्पर्कविहीन हुनेको संख्या ठूलो छ। आम मानिस आफ्ना आफन्तजनको खोजी, उद्धार र राहतको काम प्रभावकारी होस् भन्ने चाहिरहेका छन्। तर सरकार मन्त्रीहरु भने एक भारतीय लेखकसँग पाँच तारे होटलमा भोज खाइरहेको फोटो सार्वजनिक भएको छ।
भारतीय लेखक तथा राजनीतिज्ञ शशि थरूर आफ्नो पुस्तक ‘म किन हिन्दू’ सार्वजनिक गर्न नेपाल आएका छन्। उनको पुस्तक बुधबार नै सार्वजनिक भए पनि उनीहरुले भेटघाट र समय बिताइरहेका छन्।


उनै थरुरलाई भेट्न अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारीहरु लाइन लागेर होटलमा पुगेको सार्वजनिक भएको छ।

थरुर अर्थमन्त्री वाग्लेसँग् भेटेको फोटो सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग प्रभावित भएँ। उहाँले आफ्नो देशका आर्थिक चुनौती र सम्भावनाबारे निकै गम्भीरतापूर्वक र विचारपूर्ण ढंगले कुरा गर्नुभयो। उहाँको मराठी नामबारे मलाई जिज्ञासा लागेको थियो। उहाँले आफ्ना पुर्खाहरू ८०० वर्षअघि महाराष्ट्रबाट नेपालमा बसाइँ सरेको बताउनुभयो। नयाँ नेपाल सरकारमा स्मार्ट, शिक्षित र व्यावसायिक व्यक्तिहरूको नयाँ पुस्ता जिम्मेवारीमा आएको छ। पेशाले अर्थशास्त्री रहेका वाग्ले त्यस पुस्ताका उत्कृष्ट प्रतिनिधि हुनुहुन्छ। दिनको अन्त्यमा उहाँसँगै रात्रिभोजमा सहभागी भएँ।’


त्यस्तै उनले लामिछाने, खनालसँगको भेटबारे पनि ट्वीटरमा चर्चा गरेका छन्। अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदाससँग पनि भेट गरेको उनको दाबी छ।
देश बाढी प्रलयमा परेका बेला जिम्मेवार व्यक्तिहरु भोज, मनोरञ्जनमा लाग्नु अस्वभाविक भएको राजनीतिक विश्लेषक देवराज दाहाल बताउँछन्।





