भोटेकोशी बाढी: १२१ विदेशी पर्यटकको उद्धार, ३३ देशका ५११ अझै बेपत्ता

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गत भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट भएको क्षति बारे जानकारी दिदै सम्पर्कमा नभएका विदेशी नागरिकको विवरण सार्बजनिक गरको छ ।

मन्त्रालयले अहिलेसम्म ३३ देशका ६३२ विदेशी नागरिकमध्ये १२१ जना सम्पर्कमा आएको जानकारी दिदै ५११ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ ।

विदेशी नागरिकतर्फ भारतका १७८ मध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन् । त्यस्तै चीनका १०० मध्ये १६ जना फेला परेका छन् भने ८४ जना बेपत्ता छन् । मलेसियाका ५१, युक्रेनका ५३, क्यानडाका २५, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र अमेरिकाका ६८ नागरिकसमेत सम्पर्कमा नरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

सरकारले अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रमा जीवन बचाउने, खोजी तथा उद्धार गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र राहत उपलब्ध गराउने रहेको जनाएको छ ।

बाढीबाट महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेकाले सरकारले प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगबारे थप मूल्याङ्कन गरिरहेको जनाएको छ । आवश्यकताअनुसार आधिकारिक माध्यमबाट सहयोगका लागि आग्रह गरिने बताइएको छ ।

विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत समेत प्रभावित विदेशी नागरिकका परिवारलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । विदेश मन्त्रालयको आपत्कालीन टोलीमा ९७७–९७४४४४१२२७ र ९७७–९७४४४४१२२८ नम्बरमा बिहान ७ बजेदेखि राति १० बजेसम्म सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।