
काठमाडौँ, १३ भदौ। चिकेन मःम नेपाली समाजमा अत्यन्त लोकप्रिय र रुचाइने परिकार हो। मैदाको पीठोभित्र कुखुराको किमा र विभिन्न मसला भरेर बाफमा पकाइने यो परिकार खाजाका रूपमा सबैभन्दा बढी रोजाइमा पर्छ। आज गाईजात्रा तथा शनिबारको बिदा पनि परेको छ। गाईजात्राका अवसरमा विशेष गरी मःम खाने चलन छ।
त्यसैले आजको बिदामा के खाजा बनाउने भनेर सोचिरहनुभएको छ भने हामी तपाईंलाई मीठो सुपसँग तातोतातो चिकेन मःम खाने सल्लाह दिन्छौँ। घरमै पकाएर खाँदा एकातिर पारिवारिक माहौल बन्छ भने अर्कातिर आजको दिन पनि रमाइलो गरी बित्छ। आउनुहोस्, आज हामी तपाईंलाई घरमै कसरी मीठो चिकेन मःम तयार पार्ने भन्ने तरिका सिकाउँछौँ।


घरमा स्वादिष्ट चिकेन मःम बनाउने आवश्यक सामग्री र बनाउने तरिका:

आवश्यक सामग्री
किमाको लागि:

कुखुराको किमा (Chicken Mince): ५०० ग्राम
प्याज: २ वटा (मसिनो गरी काटिएको)

हरियो प्याज, धनियाँ: इच्छा अनुसार (मसिनो गरी काटिएको)
अदुवा-लसुनको पेस्ट: १ टेबलस्पून
मःम मसला: १ टेबल स्पून
मक्खन (Butter) वा तेल: २ टेबल स्पून

स्वाद अनुसार नुन र मरिचको धुलो
पिठोको लागि:
मैदा: २ कप
पानी: मुछ्नका लागि आवश्यकता अनुसार

नुन: एक चिम्टी

बनाउने तरिका
पिठो मुछ्ने: मैदामा नुन र थोरै-थोरै पानी हाल्दै अलि कडा (न धेरै नरम, न धेरै कडा) पिठो मुछ्नुहोस्। यसलाई १५-२० मिनेट भिजेको कपडा वा बिर्कोले ढाकेर राख्नुहोस्।
किमा तयार पार्ने: एउटा ठूलो भाँडोमा कुखुराको किमा, प्याज, हरियो प्याज, धनियाँ, अदुवा-लसुन पेस्ट, मःम मसला, नुन, मरिच र मक्खन/तेल हालेर राम्ररी मिसाउनु होस्।
रोटी बेल्ने: मुछिएको पिठोबाट साना-साना डल्ला (लोइ) बनाएर पातलो र गोलाकार रोटी बेल्नुहोस् (किनारा पातलो र बिचमा अलि बाक्लो हुनुपर्छ)।
मःम भर्ने र आकार दिने: बेलिएको रोटीको बिचमा १ चम्चा किमा राखेर आफ्नो मनपर्ने आकारमा मःमको मुख मोड्नुहोस्।
बाफमा पकाउने (Steaming): मःम पकाउने भाँडो (मोमो मेकर) को जालीमा थोरै तेल लगाउनुहोस् ताकि मःम नटाँसियोस्। मःमहरूलाई अलि-अलि दुरीमा राखेर उम्लेको पानीमाथि १० देखि १२ मिनेटसम्म बाफमा पकाउनुहोस्।
मःमको बाहिरी भाग नटाँसिने र हातमा नच टाँसिने भएपछि चिकेन मःम तयार हुन्छ। यसलाई रातो टमाटर र तिलको अचारसँग तातो-तातो पस्कनुहोस्।




