
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी दिनुभएको हो ।
परराष्ट्रमन्त्री खनालकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ सय ८७ विदेशी नागरिकसहित ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ ।


विपद्मा परी हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने करिव २ हजार ४ सय व्यक्ति अझै बेपत्ता छन् । खोजी र प्रमाणीकरणको कार्य जारी रहेकाले हताहती र क्षतिको संख्यामा फेरबदल हुनसक्ने भन्दै मन्त्रालयले आधिकारिक सूचनामा मात्र विश्वास गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ ।





