चितवनमा भेटिएका २२९ शवको डीएनए नमुना राखेर समाधिस्थ गर्ने तयारी , दुर्गन्ध बढेपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन गर्ने प्रशासनको निर्णय

चितवनमा भेटिएका २२९ शवको डीएनए नमुना राखेर समाधिस्थ गर्ने तयारी ,दुर्गन्ध बढेपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन गर्ने प्रशासनको निर्णय

चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका २२९ शवको डीएनए नमुना सङ्कलन गरी अभिलेख राखेर समाधिस्थ गर्ने तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित हुँदै गएको र यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय गरेको हो।

प्रशासनका अनुसार नारायणी र त्रिशूली नदी किनारबाट हालसम्म २३३ शव सङ्कलन गरिएका छन्। तीमध्ये चार शवको मात्रै पहिचान भएको छ। बाँकी २२९ शव विभिन्न होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा अन्य सुरक्षित स्थानमा राखिएका छन्।

शवहरू लामो समयसम्म राख्दा सड्न थालेपछि केही शव पहिचान गर्नसमेत कठिन हुने अवस्था आएको प्रशासनले जनाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूको सुझावसमेतलाई आधार मानेर तत्काल शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभएको छ।

प्रशासनले पहिचान नभएका तथा बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने जनाएको छ। त्यसअघि सबै शवको डीएनए नमुना सङ्कलन गरी प्रत्येक शवलाई सङ्केत नम्बर प्रदान गरेर आवश्यक अभिलेख राखिनेछ।

प्रशासनका अनुसार आजदेखि नै भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ।

भविष्यमा आफन्तबाट खोजी तथा पहिचानका लागि आवश्यक पर्ने प्रमाण सुरक्षित राख्ने उद्देश्यले डीएनए नमुना तथा शवसम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले असाधारण परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको भन्दै पीडित परिवार तथा सरोकारवालाप्रति दुःख व्यक्त गरेको छ। साथै शव व्यवस्थापनमा सहयोग, समन्वय तथा आवश्यक सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ।

images