रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्नुभएको छ । शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रसुवा बाढीप्रति दुःख व्यक्त गर्नुभएको हो ।

नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो ।

चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उहाँको भनाइ छ ।

उहाँले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको, कैयौँ घाइते भएको र हजारौँको उद्धार गरिएको जानकारी दिँदै सो क्षेत्रका जलविद्युत गृह, विद्यालय र अस्पतालहरूमा भएको भौतिक क्षतिको परिमाण अर्बौं रुपैयाँ बराबर रहेको बताउनु भयो ।