
-केशब पन्थी, अर्घाखाँची डटकम
अर्घाखाँची, भदौ १३ । नेवार समुदायको मौलिक तथा ऐतिहासिक सांस्कृतिक पर्व गाईजात्रा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुङ्गाको हटियामा परम्परागत रूपमा मनाइएको छ।


स्थानीय नेवार समुदायले विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पहिरन तथा बाजागाजासहित गाईजात्रा निकालेका हुन्। गाईजात्राले नेवार समुदायको मौलिक संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ।


गाईजात्राका क्रममा स्थानीय समुदायका अगुवा, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। परम्परागत विधि र सांस्कृतिक गतिविधिसहित मनाइएको गाईजात्राले केरुङ्गाको स्थानीय सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ।


स्थानीय नेवार समुदायका अग्रज अशोक कुमार श्रेष्ठले गाईजात्राको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी दिँदै यो पर्व नेवार समुदायको महत्वपूर्ण मौलिक परम्परा भएको बताउनुभयो। उहाँले पुस्तौँदेखि चलिआएको संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता पर्वको निरन्तरता आवश्यक रहेको बताउनुभयो।


त्यस्तै स्थानीय कृष्णप्रसाद श्रेष्ठले बदलिँदो समयसँगै मौलिक संस्कृति र परम्पराप्रतिको चासो घट्दै गएको अवस्थामा गाईजात्राजस्ता पर्वले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले नयाँ पुस्तालाई समेत यस्ता सांस्कृतिक गतिविधिमा सहभागी गराउँदै परम्पराको महत्व बुझाउनुपर्नेमा जोड दिनुभयो।

स्थानीय दुर्गा श्रेष्ठलगायतले पनि गाईजात्रा नेवार समुदायको पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।

स्थानीयस्तरमा मनाइने यस्ता सांस्कृतिक पर्वले समुदायबीचको आपसी सम्बन्ध र एकतालाई थप बलियो बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कार र मौलिक परम्पराबारे जानकारी गराउने अवसरसमेत प्रदान गर्ने स्थानीयको भनाइ छ।


आधुनिकताको प्रभाव बढ्दै गएको अवस्थामा पनि केरुङ्गाको हटियामा गाईजात्रालाई निरन्तरता दिँदै स्थानीय नेवार समुदायले मौलिक संस्कृति र पहिचान संरक्षणको सन्देश दिएको छ।
भिडियो रिपोर्ट : केशब पन्थी, अर्घाखाँची डटकम









