एकै दिन रिलिज हुनेछन् ‘किङ’ नामका दुई फिल्म, शाहरुखसँग नागार्जुन भिड्दै

मुम्बई, १४ भदौ। शाहरुख खानका प्रशंसकहरू उनको आगामी चलचित्र ‘किङ’ को व्यग्र प्रतीक्षा गरिरहेका छन्।

यस चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन्। शाहरुखकी छोरी सुहाना खान, अभिषेक बच्चन, अनिल कपुर, रानी मुखर्जी, दीपिका पादुकोण, अभय वर्मा र जयदीप अहलावतलगायत बलिउडका धेरै चर्चित कलाकारहरू यस चलचित्रमा देखिने छन्। यसको प्रदर्शन मिति २४ डिसेम्बर २०२६ तोकि सकिएको छ।

यसैबिच प्राप्त अर्को जानकारी अनुसार दक्षिण भारतीय सुपरस्टार नागार्जुनको अभिनय रहेको चलचित्र पनि सोही दिन प्रदर्शन हुने तय भएको छ। रोचक कुरा त के छ भने, उनको चलचित्रको शीर्षक पनि शाहरुखको चलचित्रको जस्तै छ। शाहरुख खानको चलचित्रको शीर्षक ‘किङ’ रहेको छ भने नागार्जुनको चलचित्रको नाम ‘किङ १००’राखिएको छ।

शाहरुखको चलचित्र ‘एक्सन थ्रिलर’ भए जस्तै नागार्जुनको चलचित्रमा पनि भरपूर एक्सन रहने अपेक्षा गरिएको छ। नागार्जुनको ६७औँ जन्मदिनको अवसर पारेर अगस्ट २९ मा यस चलचित्रको टिजर सार्वजनिक गरिएको थियो, जसमा उनी सशक्त र एक्सनले भरिपूर्ण अवतारमा देखिएका छन्। टिजर हेरेपछि प्रशंसकहरू यस चलचित्रलाई लिएर निकै उत्साहित भएका छन्।

आर ए कार्तिकद्वारा निर्देशित ‘किङ १००’ पनि यसै वर्षको डिसेम्बर २४ मा ठूलो पर्दामा प्रदर्शन हुँदैछ। यसरी एकातिर तेलुगु सिनेमाका सुपरस्टार नागार्जुन छन् भने अर्कोतिर बलिउडका ‘बादशाह’ भनेर चिनिने शाहरुख खान छन्। यी दुवैजना आ आफ्ना चलचित्रमार्फत ‘किङ’का रूपमा एकै दिन ठूलो पर्दामा आउँदैछन्।

दुवै चलचित्र एउटै मितिमा प्रदर्शनमा आउँदै भए तापनि बक्स अफिसमा तिनका बीच कुनै वास्तविक प्रतिस्पर्धा हुनेछैन। यसको कारण के हो भने यी चलचित्रहरूले बिल्कुलै फरक फरक दर्शक वर्गलाई लक्षित गरेका छन्। वास्तवमा, हालको जानकारी अनुसार ‘किङ’ केवल हिन्दी भाषामा र ‘किङ १००’ केवल तेलुगु भाषामा प्रदर्शन हुँदैछ । फलस्वरूप, बक्स अफिसमा एउटा चलचित्रले अर्कोलाई कुनै चुनौती दिने अवस्था छैन।

जे होस्, टिजर सार्वजनिक भएयता नागार्जुनले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेका छन्। उनको अन्दाज र एक्सनले भरिपूर्ण अवतारले दर्शकको मन जितिरहेको छ। मुख्य भूमिका निर्वाह गर्नुका साथै उनी यस चलचित्रमा निर्माताका रूपमा पनि जोडिएका छन्। यो चलचित्र उनको पारिवारिक प्रोडक्सन कम्पनी ‘अन्नपूर्ण स्टुडियोज’ को ब्यानरमा निर्माण भइरहेको छ।