
अर्घाखाँची । उमेरले ३४ वर्ष। जिम्मेवारी भने सयौँ नागरिकको दैनिक समस्या समाधान गर्ने। सन्धिखर्क नगरपालिका–७ खाँचिकोटका वडाध्यक्ष चुरा ब. के.सी जिल्लाकै कान्छा वडाध्यक्षका रूपमा जनताको सेवामा सक्रिय देखिनुभएको छ।
२०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित केसी ले निर्वाचित भएदेखि नै वडा कार्यालयको नियमित सेवासँगै नागरिकका समस्या समाधानलाई प्राथमिकता दिँदै आउनुभएको छ।


सामाजिक काममा भने उहाँको संलग्नता नयाँ होइन। २०६४ सालदेखि नै गाउँमा सामाजिक गतिविधिमा सक्रिय रहनुभएका केसी ले अध्ययनका क्रममा विद्यार्थी राजनीतिबाट आफ्नो सामाजिक तथा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।

वडाध्यक्ष निर्वाचित भएपछि उहाँको अधिकांश समय नागरिककै सेवामा बित्ने गरेको छ। विदाका दिनबाहेक बिहान ९ बजे वडा कार्यालय पुग्ने र साँझ ५ बजेसम्म कार्यालयमै बसेर सेवाग्राहीका काम गर्ने गरेको उहाँ बताउनुहुन्छ। कार्यालयसम्म आउन नसक्ने वा तत्काल सहयोग आवश्यक परेका नागरिकको समस्या समाधानका लागि सम्बन्धित ठाउँमै पुग्ने गरेको उहाँको भनाइ छ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै वडाध्यक्षकेसी ले भदौ महिनामा वडाका विभिन्न टोलमा अभियान सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता लाभग्राहीको कार्ड नवीकरण गर्ने कामलाई प्राथमिकता दिनुभएको छ।

विशेषगरी वृद्धवृद्धा, अशक्त तथा सहाराविहीन नागरिकलाई वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउने उद्देश्यले टोल तथा घरमै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो।


‘वृद्ध बुबाआमा वडा कार्यालयसम्म आउन नसक्ने हुनुहुन्छ। कतिपय वृद्धवृद्धा सहाराविहीन नै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले टोलमै पुगेर सेवा दिएको छु। हिँड्न नसक्ने अशक्त वृद्ध बुवाआमालाई घरमै पुगेर सेवा दिने गरेको छु।’
वडामा रहेका अपांगता भएका व्यक्ति, एकल महिला तथा दलित समुदायका पाँच वर्षमुनिका बालबालिकाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणसमेत टोल तथा घरमै पुगेर गरिएको उहाँले जानकारी दिनुभयो।
सामाजिक सुरक्षा भत्ता लिनसमेत नागरिकलाई सहज बनाउने उद्देश्यले बैंकसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी भत्ता घरमै उपलब्ध गराउने योजनामा आफू रहेको उहाँले बताउनुभयो।
वडाध्यक्ष केशीले वडा कार्यालयका सेवा प्रवाहलाई सरल, सहज, छिटो र पारदर्शी बनाउने आफ्नो प्राथमिकता रहेको बताउनुहुन्छ।

‘जनतालाई नजिकको सरकारको अनुभूति दिलाउने गरी काम गर्नेछु,’ उहाँ भन्नुहुन्छ, ‘सरल, सहज, छिटोछरितो रूपमा सेवा प्रवाह गर्ने मेरो प्रयास हो।’
आवश्यक कागजात पूरा भएका सेवाग्राहीको काम सकेसम्म १५ मिनेटभित्रै सम्पन्न गर्ने गरी सेवा प्रवाह गरिरहेको उहाँको दाबी छ।
अन्य सरकारी कार्यालयसँग समन्वय गर्नुपर्ने काममा केही समय लाग्न सक्ने भए पनि त्यस्ता सेवाग्राहीलाई सहजीकरण गरेर काम सम्पन्न गराउन आफूले सहयोग गर्ने उहाँ बताउनुहुन्छ।
वडाध्यक्ष केशीका अनुसार जनप्रतिनिधिको मुख्य जिम्मेवारी नागरिकको समस्या बुझ्नु र समाधानका लागि पहल गर्नु हो। त्यसैले कार्यालयमा आउने सेवाग्राहीसँगै नागरिकका समस्या बुझ्न आवश्यक पर्दा टोल तथा घरमै पुग्ने गरेको उहाँ बताउनुहुन्छ।


दिनको समयमा मात्र नभई आकस्मिक रूपमा नागरिकलाई समस्या परे रातिको समयमा समेत सम्बन्धित ठाउँमा पुगेर सहयोग गर्ने गरेको उहाँको भनाइ छ।
वडाको विकास निर्माणमा समेत नागरिकलाई सँगसँगै लिएर अघि बढ्ने उहाँले बताउनुभयो। स्थानीय आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै विकास निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने उहाँको लक्ष्य छ।

३४ वर्षको युवा उमेरमै वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका केसी को घरदैलोमै पुगेर सेवा दिने अभ्यासले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको देखिन्छ। अब उहाँका आगामी कामले खाँचिकोटमा ‘नजिकको सरकार’को अनुभूति नागरिकले कत्तिको पाउँछन् भन्ने विषय महत्वपूर्ण रहनेछ।






