विपद्को अवस्थालाई ध्यानमा राख्दै शीतगंगामा तीज गीत प्रतियोगिता स्थगित

अर्घाखाँची । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि अर्घाखाँचीको शीतगंगामा आयोजना हुने तीज गीत प्रतियोगिता स्थगित गरिएको छ।

नेकपा एमाले शीतगंगा नगर कमिटीको संरक्षणमा अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघले हरितालिका तीजको अवसरमा भदौ २० गते आयोजना गर्ने तयारी गरेको तीज गीत प्रतियोगिता देशको असहज परिस्थितिलाई ध्यानमा राख्दै स्थगित गरिएको हो।

नेकपा एमाले शीतगंगा नगर कमिटीका अध्यक्ष सञ्जय रानाले प्रेस विज्ञप्ति जारी गर्दै विपद्को समयमा जनता नै सबैभन्दा ठूलो भएकाले कार्यक्रमभन्दा राहत, उद्धार र बेपत्ताको खोजीमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभएको छ।

विज्ञप्तिमार्फत बाढीपहिरोमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद् प्रभावितको सहयोगमा जुट्न सबैलाई आग्रह गरिएको छ।