
काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीसँगै धादिङको कृष्णभीर क्षेत्रमा ठूलो पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
कृष्णभीर क्षेत्रमा नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकमा गम्भीर क्षति पुगेकाले सोही स्थानबाट सडक सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार क्षतिको अवस्था हेर्दा प्राविधिक अध्ययन, विस्तृत डिजाइन तथा टेन्डर प्रक्रियासहित पुनर्निर्माण गर्न लामो समय लाग्न सक्छ। त्यसैले दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै कम रहेको उहाँले बताउनुभएको छ।


यसअघि पनि कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी जोखिम न्यूनीकरणका लागि मर्मत तथा संरक्षणको काम भइरहेको थियो। भर्टिकल पाइलिङको काम पूरा भइसकेको भए पनि होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी थियो। काम पूर्णरूपमा सम्पन्न नहुँदै आएको ठूलो पहिरोले सडकमा थप क्षति पुर्याएको हो।
सडक तत्काल सञ्चालनमा आउने अवस्था नरहेपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। प्राविधिक टोलीले विभिन्न सम्भावित रुटको निरीक्षण गरिरहेको र छोटो, सुरक्षित तथा व्यावहारिक मार्गलाई वैकल्पिक रुटका रूपमा अघि बढाइने सडक योजनाले जनाएको छ।





