
अफगानिस्तानमा २० वर्षसम्म चलेको अमेरिकी नेतृत्वको सैन्य उपस्थिति र त्यसका प्रभावहरूलाई समेटेर लेखिएको पुस्तक ‘मेमोरिज अफ जिहादः ट्वान्टी इयर्स इन अकुपेसन’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ । अफगानिस्तानको सूचना तथा संस्कृति मन्त्रालयका प्रकाशन उपमन्त्री मुहाजेर फराहीद्वारा लिखित यस पुस्तकमा सन् २००१ देखि २०२१ सम्मको युद्धकालीन समयका विभिन्न घटनाक्रमहरूलाई चित्रण गरिएको छ ।
विशेषगरी, सन् २००९ मा अफगानिस्तानको फराह प्रान्तमा अमेरिकी बमबारीका क्रममा मारिएकी आमाको दूध चुस्न खोजिरहेको एक अवोध शिशुको मार्मिक दृश्यबाट पुस्तकको उठान गरिएको छ ।


आगामी अगस्ट ३१ मा अफगानिस्तानबाट अन्तिम अमेरिकी सैनिक बाहिरिएको तीन वर्ष पुग्दै गर्दा यो पुस्तक बजारमा आएको हो ।

लेखक फराहीले अमेरिकी सैन्य उपस्थितिका वास्तविक भोगाइ र अफगान समाजमा परेका गहिरा असरहरूलाई अभिलेखीकरण गर्ने उद्देश्यले यो पुस्तक लेखेको बताएका छन् । पुस्तक सार्वजनिक गर्दै उपमन्त्री फराहीले भने, ‘सन् २००१ देखि २०२१ सम्मको २० वर्षमा अमेरिकी सेनाबाट व्यापक हिंसा र अत्याचारका घटनाहरू भए । गाउँबस्ती, विवाह समारोह, अन्त्येष्टि र शैक्षिक संस्थाहरूमा बमबारी गरियो। यसले गर्दा ग्रामीण भेगमा ठूलो विनाश निम्तिएको छ ।

लाखौँ देशवासीले ज्यान गुमाएका छन् भने हजारौँले कारागार र यातना भोग्नुपरेको छ ।’
पुस्तकमा दुई दशक लामो सैन्य हस्तक्षेपका कारण अफगानिस्तानले व्यहोर्नुपरेको नागरिक हताहती, विस्थापन, भौतिक विनाश र मानसिक आघातका विषयहरूलाई विस्तृत रूपमा उल्लेख गरिएको छ । सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको करिब ७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेको छ। यसका साथै, विभिन्न अन्तर्राष्ट्रिय प्रतिवन्ध र वैदेशिक सहायतामा आएको गिरावटका कारण अफगानिस्तानको अर्थतन्त्र हाल गम्भीर संकटबाट गुज्रिरहेको विषयलाई पनि पुस्तकले समेटेको छ ।




