तीजको कार्यक्रम स्थगित गर्दै केरुङ्गेली समाजले विपद् उद्धार कोषमा गर्‍यो १ लाख १ हजार सहयोग

बुटवल । देशमा परेको विपद्लाई मध्यनजर गर्दै केरुङ्गेली समाज बुटवल, रुपन्देहीले तीज मिलन तथा साधारण सभा कार्यक्रम स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १११ सहयोग गरेको छ।

समाजले भदौ २० गते आयोजना गर्ने तयारी गरेको तीज मिलन तथा दर खाने कार्यक्रम र साधारण सभा स्थगित गर्दै उत्सवभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिएको हो।

समाजमा आबद्ध सदस्यहरूबाट संकलित रकममा संस्थाको तर्फबाट समेत थप गरी उक्त सहयोग रकम कोषमा जम्मा गरिएको जनाइएको छ।

विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाजले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरू सकुशल परिवारको सम्पर्कमा फर्किऊन् भन्ने कामना गरेको छ।

“विपद्को समयमा उत्सवभन्दा पीडितको साथ महत्वपूर्ण” भन्ने सन्देशसहित समाजले गरेको यो सहयोग मानवीय संवेदनाको उदाहरण बनेको छ।

#ArghakhanchiCom #KerungeliSamaj #Butwal #Rupandehi #DaibikPrakop #Sahayog #Relief #Nepal