
नेपालगन्ज, भदौ १६ । नेपाल–भारत सीमावर्ती क्षेत्रको आवागमन तथा पर्यटनलाई नयाँ गति दिने अपेक्षा गरिएको नेपालगन्ज रोड (रुपैडिहा)–वाराणसी रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
भारतका रेल, सूचना तथा प्रसारण एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका हुन्। नेपालगन्ज रोड रेलवे स्टेसनमा आयोजित कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित जनप्रतिनिधि, भारतीय जनता पार्टीका पदाधिकारी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।


नयाँ रेल सेवाले नेपालगन्जसँग जोडिएको रुपैडिहाबाट नानपारा, रिसिया, बहराइच, गोण्डा हुँदै गोरखपुर र वाराणसीसम्मको यात्रा सहज बनाएको छ। करिब ५६ किलोमिटर नेपालगन्ज रोड–बहराइच रेलखण्ड ब्रोडगेजमा स्तरोन्नति भएपछि सेवा सञ्चालनमा आएको हो। नेपालगन्ज रोडदेखि वाराणसीसम्मको रेल दूरी करिब ५६३ किलोमिटर रहेको छ।


रेल सेवाबाट वाराणसी, अयोध्या र गोरखपुरजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यसम्म पश्चिम नेपालबाट जाने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। काशी विश्वनाथ मन्दिर, गंगा आरती, अयोध्याको राम मन्दिर तथा गोरखनाथ मन्दिरलगायतका गन्तव्यमा नेपाली तीर्थयात्रीको पहुँच थप सहज हुनेछ।

पर्यटन व्यवसायीहरूले नयाँ रेल सेवाबाट नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्ने अवसर सिर्जना भएको बताएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, वन्यजन्तु अवलोकन, थारू संस्कृति तथा होमस्टेलाई भारतीय पर्यटकमाझ प्रवर्द्धन गर्न सके रेल सेवाबाट ठूलो लाभ लिन सकिने अपेक्षा गरिएको छ।


नेपालगन्ज–बर्दिया–लुम्बिनी तथा वाराणसी–अयोध्या–गोरखपुर–नेपालगन्जलाई जोडेर पर्यटन प्याकेज तथा ‘रेल पर्यटन सर्किट’ निर्माण गर्न सकिने सम्भावना समेत देखिएको छ।
नेपालगन्ज रोडसम्म ब्रोडगेज रेल सेवा पुगेपछि अब नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सम्पर्क विस्तार गर्नुपर्ने मागसमेत उठेको छ। कोहलपुरसम्म रेल विस्तार भए पश्चिम नेपालका बर्दिया, सुर्खेत, कर्णाली तथा लुम्बिनी क्षेत्रसम्म भारतीय पर्यटकको पहुँच थप सहज हुने पर्यटन व्यवसायीहरूको भनाइ छ।

नयाँ रेल सेवाले नेपाल–भारतबीच यातायातसँगै धार्मिक पर्यटन, व्यापार तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसको प्रभावकारी उपयोगका लागि नेपालतर्फ पर्यटन प्याकेज, सीमा नाका सहजीकरण, पर्यटक यातायात, सूचना केन्द्र तथा प्रचार–प्रसारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।





